Latest News

काँग्रेस उपसभापति गुरुङले मागे यी मन्त्रीहरुको राजिनामा

Nepalese Times June 23, 2022 (2 Year ago)    623 Views

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले कृषिमन्त्री र शिक्षामन्त्रीको राजिनामा मागेका छन् । जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै उनले कृषिमन्त्री र शिक्षामन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताए ।

किसानलाई समयमा मल दिन नसक्ने र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । कृषिमन्त्री महिन्द्रराय यादव र शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्री पदमा टाँसिरहनुलाई राजनीतिको विकृत रुप भएको उनले बताए ।

उनले भने, ‘राजनीतिको विकृत रुप किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताब दिन नसक्ने। तैपनि मन्त्री पदमा टाँसिरहने । जिम्मेवारी पुरा गर्न नसकेपछि राजीनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त ?,’

सामाजिक सञ्जालमार्फत उनले कृषिमन्त्री र शिक्षामन्त्री गैरजिम्मेवार रहेकोले दुबैजनाले तत्काल राजिनामा दिनुपर्ने माग गरेका हुन् । लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो नभएको भन्दै उनले जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुने बताए ।

यस्तै मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् । ‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ ।

अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’ झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।

कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए । उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस