Latest News

फोहोर व्यवस्थापनका लागि बालेनले ल्याए नयाँ योजना, नगरवासीले लागू नगरे जरिवाना

Nepalese Times June 23, 2022 (2 Year ago)    565 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ ।

फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

स्रोत (घरमा) नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन भन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस