Latest News

नयाँ पार्टी घोषणा गरेका रवि लामिछानेप्रति एमाले महासचिव पोखरेलले गरे कडा टिप्पणी

Nepalese Times June 22, 2022 (2 Year ago)    458 Views

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् ।

रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन् (‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएर प्रतिननिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका सुमन सायमीले लामिछानेको नयाँ पार्टी घोषणाको कदम गलत भएको टिप्पणी गरेका छन् । उनले भने, ‘राजनीतिक पार्टी नै खोल्ने हो भने त अरु पार्टी पनि छन् । हामीहरुले नयाँ पार्टी खोल्न खोजेका हौइनौँ । विकल्पको खोजी गरेका हौँ ।’

यस्तै उनले रविका दाई हरिशरण लामिछानेले आफूसँग भएको फोटो सार्वजनिक गर्दै मिडियालाई गलत सुचना प्रवाह गरेकोसमेत आरोप लगाएका छन् । लामिछानेको दाजुभाईले फटाईँ काम गरेको भन्दै उनले अब आफूहरु नयाँ ढंगले छलफल गरेर अघि बढ्ने बताए ।

यस्तै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । रविले ‘परिवारवाद’ देखिने भनेर आफूलाई पार्टीमा स्थान नदिएको भन्दै दुखेसो पोखेका छन् ।

हरिशरणले लेखेका छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’

हरिशरणले आफू रविको पार्टीमा आजीवन नलाग्ने घोषणा पनि गरेका छन् । ‘दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु।’ उनले लेखेका छन् ।

स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ । ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस