काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारे ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गरे ।
उनले भने,‘सरकारको बारेमा गम्भीर समिक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होईन, यो परमादेशबाट जन्मिएको सरकार भएकोले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ। सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दापनि यो खर्चिलो छ ।’
उनले बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरानाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेको आरोप लगाए । उनले भने,‘हिजो ओम्नी, यति भन्नेहरु आज मुखमा पट्टी बाँधेर बसेका छन् । बजेट निर्माणको बेला भएको चलखेल अपराधको विषय हो, त्यसमा कमिसनको ठूलो खेल देखिन्छ । वायर र स्यानिटरी प्याडमा ठूलो छुट दिईएको छ। नेपाली स्वदेशी उद्योग बन्द गर्ने अवस्थामा पुर्याईएको छ । आज उद्योगी तथा व्यवसायीहरु सबै निराश हुने अवस्थामा पुगेका छन् ।’
एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै उनले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाए । तर, विद्यार्थी आन्दोलनमा सरकार दमनमा उत्रिएको उनको आरोप छ । बस्नेतले वर्तमान सरकार बनेपछि मुलुकमा महिला हिंसा व्यापक रुपमा बढेको पनि उल्लेख गरे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड््ययनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुव्र्यवहार गरेको कुरा बाहिर आउँदापनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको गुनासो पोखे ।
उनले भने–‘पर्यटनमन्त्रीको राजीनामा आउला भनेको त, उल्टै कुटाई खाने युवराज अधिकारी हिजो निलम्बनमा परे । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली व्यक्तिको घरमा जान्छिन् र हातपातको तहमा उत्रिन्छन् । तर, उनलाई कारबाही गर्ने वा राजीनामा दिने कुरै छैन् । वलीलाई कारबाही गर्नको लागि प्रदेश सरकारले कुनै पहल लिएन । यो दुःखद् विषय हो । अहिले बैंकिङ क्षेत्र टाट पल्टिँदैछ । शेयर बजारको अवस्था त्यस्तै छ । बजेट कार्यान्वयन नहुने अवस्थामा छ । सरकार भने प्रतिपक्षीविरुद्ध षड्यन्त्र गरिरहेको छ ।’
बस्नेतले एमालेविहीन राज्यको कल्पना गर्ने कुरामा गठबन्धन लागिपरेको आरोप लगाए । ‘एमाले जनताको मन र मुटुमा रहुञ्जेलसम्म कहिल्यैपनि सकिँदैन्’–उनले भने–‘एमाले सदनमा ठूलो दलको रुपमा उपस्थित छ । एमालेले पपुलर मत पाएको छ । हाम्रा कमजोरीको बारेमा समिक्षा गर्छौं । हामी अहिले यो गठबन्धन टुटाउने वा सरकार फेर्नेजस्तो फोहोरी खेलमा संलग्न हुन चाहँदैनौं।’
उनले अहिले पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन कुहिएको फर्सीजस्तै छ । हेर्दा सद्धेजस्तो देखिन्छ । तर यसको भेट्नो कुहिएको छ । उपेन्द्र यादवको पार्टी विभाजनको तहमा पुगेको छ। कांग्रेस र माओवादी भित्रपनि ठूलो समस्या छ । यो गठबन्धन आँफै भत्किने अवस्थामा पुगेको छ । एमाललाईे नयाँ सरकार बनाउने कुरामा खास धेरै फुर्सद छैन् । अहिलेको धु्रवीकरण सुधार हुन्छ, तर अब हुने निर्वाचनसम्म यसको लागि पर्खनुपर्छ । हामीलाई वामपन्थीको नाममा गठबन्धन गर्ने ईच्छा छैन् । माओवादी र नेकपा एसलाई वामपन्थी मान्ने हो भने यो कम्युनिष्ट आन्दोलनकै बेईज्जती हुन्छ ।’
उनले अमेरिकाको एसपीपी कार्यक्रमको सम्बन्धमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनपनि माग गरेका छन् । उनले भने,‘हिजो ओम्नी, यति भन्नेहरु त्यसमा पनि छानबिन गरौं, आज चौधरी ग्रुप, विशाल ग्रुपको कुरा आएका छन् । अर्थमन्त्रीले चार अर्बभन्दा बढि कलेक्शन गर्ने सोच बनाएका छन् भन्ने कुरा आएका छन् । उहाँ दोषी हुनुहुन्छ भने कारबाही हुन्छ, चीनमा यदि यस्तो अर्थमन्त्री भएको भए फाँसी दिईन्थ्यो ।’
बस्नेतले अहिलेको गठबन्धनले सत्तामार्फत भ्रष्टाचार गर्ने र कुशासन जनतामा लाद्ने काम गरेको पनि आरोप लगाएका छन् । उनले भने,‘जतिसक्दो छिटो यो गठबन्धन तोडेर नयाँ जनमत लिन एमाले तयार छ । मंसिर २१ भन्दाअघि नै निर्वाचन होस । अहिलेका गठबन्धनमा आवद्ध दmलहरुले हिम्मत भए सिंगल–सिंगल लडे हुन्छ, एमाले चुनावी मैदानमा भिड्न तयार छ ।’
बस्नेतले अर्थमन्त्री शर्माको टिप्पणीलाई जनताले गम्भीर ढंगले हेरिरहेको पनि सुनाए । उनले नेपालको ईतिहासमा कार्यपालिका र न्यायपालिकामा अहिले धेरै सेटिङ गरिएको सुनाए । उनले भने,‘अहिले अर्थमन्त्री जनार्दनको स्वर ठूलो भएको छ । भोलिका दिनमा जनार्दनका स्वरलाई जनताले ठीक साइजमा राखिदिनेछन् । हुन त निभ्ने बेलाको दीप अलिक बढि चम्किन्छ ।’