काठमाडौं । नेकपा एमालेले प्रदेश १ संसदीय दलको उपनेता र सचेतक नियुक्त गरेको छ ।
नेकपा एमाले संसदीय दलको असार ७ गतेको निर्णय अनुसार प्रदेश सभामा नेकपा एमाले संसदीय दलको उपनेतामा यशोदा अधिकारीलाई नियुक्त गरेको हो ।
सचेतकमा विमल कार्कीलाई नियुक्त गरेको हो । उपनेता र सचेतकको पद रिक्त रहेको थियो । नेकपा हुँदा देखि नै विभिन्न कारण देखाएर रिक्त रहेको पदमा नियुक्त गरेको एमाले संसदीय दलले जनाएको छ ।
नेकपा एमाले संसदीय दलका नेता भिमप्रसाद आचार्यले उपनेतामा अधिकारी र सचेतकमा बिमल कार्कीलाई नियुक्त गरेको जानकारी सहितको पत्र सभामुखलाई पठाईएको संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेयता कुनै संवाद हुन नसकेको आरोप लगाएका छन् । ‘यो शेरबहादुर देउवा नेतृत्वको सरकार बनेयता कुनै संवाद नै छैन। राष्ट्रिय मुद्दामा पनि सरकार छलफल गर्दैन’, उनले भने, ‘२०४६ सालयता पहिलो पटक संवादहीनताको अवस्था छ।’
ओलीले प्रधानमन्त्री देउवातिर लक्षित गर्दै प्रतिपक्षीसँग संवाद नगरी अघि बढिरहेको आरोप लगाए। ‘प्रतिपक्षीसँग वार्ता नगरी चलाउने भए चलाउनु । सरकार डेमोक्रेसीको रुलअनुसार चल्नुपर्छ। हामीले प्रतिनिधिसभामा बोल्दा पनि यही भनेका थियौँ।’ उनले छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारसहित प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन्।
यदि हाम्रा छिमेकीसँग विश्वसनीय व्यवहार गर्न सकेनौँ भने हामीले परिपक्व व्यवहार गरेनौँ भन्नुपर्ने भन्दै उनले भने, ‘छिमेकीहरूसँग कार्ड खेल्न सक्दैनौँ। छिमेकीहरूसँग बाहिर एक थोक भित्र अर्को थोक गर्न सकिँदैन। त्यसैले हामी होसियारीपूर्वक अघि बढ्नुपर्छ।’
२०४६ सालको राजनीतिक आन्दोलनयता पहिलो पटक देशमा गहिरो संवादहीनताको अवस्था रहेको उनको भनाइ छ । वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिलाबारे पूर्व राजदूत समूहले मंगलबार गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।