Latest News

रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेसँगै रविन्द्र मिश्रले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 21, 2022 (2 Year ago)    608 Views

काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् ।

नयाँ पार्टी घोषणा हुन नपाउँदै धेरैजसो मानिसहरुले उनलाई रविन्द्र मिश्रको पथमा जाने चिन्ता व्यक्त गरिरहेका छन् । नयाँ पार्टी घोषणा गरेर मात्रै नहुँने भन्दै उनका समर्थकहरुले समेत चिन्ता व्यक्त गरिरहेका छन् ।

लामिछानेले नयाँ पार्टी घोषणा गरेसँगै विवेकशिल साझा पार्टी निर्माण गरेका रविन्द्र मिश्रले लामिछानेलाई शुभकामना दिएका छन् । उनले पार्टी निर्माणको क्रममा आफूहरुले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्न आग्रहसहित शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्,
‘प्रिय रवी,
तिमी सानै हुँदादेखि चिनेकोले मैले ुतिमीु भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

यस्तै लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको भेटिएसँगै लामिछाने तनावमा परेका छन् । लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ।

मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन्।

तर ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसीर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘ राष्ट्रवादी’ पार्टीले लिइसकेको छ। नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी हुन्।

प्रतिक्रिया दिनुहोस