Latest News

रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पत्नी आरजुले गरिन् कडा टिप्पणी, के भनिन् ? (भिडिओसहित)

Nepalese Times June 20, 2022 (2 Year ago)    523 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी नेतृ आरजु राणाले स्वतन्त्र उठेर जितेकाहरूले कस्तो काम गर्छन् त्यो हेर्न बाँकी रहेको बताएकी छिन् ।

यस्तै उनले अहिले स्वतन्त्र उम्मेदवारी दिने लहर नै चलेको र पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका बताइन् ।

पत्रकार रबि लामिछनेप्रति लक्षित गर्दै उनले भनिन्, ‘पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन् । हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा ।’

यस्तै उनले अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका बताएकी छिन् ।

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको आरोप लगाएकी छिन् ।

उनले भनिन्, ‘ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’ बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको भन्दै आरजुले स्वतन्त्रहरूले एउटा–एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्।

सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले ‘रूटिङ अफ नेपाल बन्द’ लाई बालेनले पैसा तिरेको बताइन् ।

फरक प्रसंगमा उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको बताइन्। शेरबहादुर देउवा पाँच पटक सत्ता सम्हालिसकेको व्यक्ति भएको भन्दै उनले भनिन्, ‘सत्ताको कुरा के हो भने, पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न जनतालाई भनेअनुसार काम गर्न गाह्रो छ ।’

उनले भनिन्, ‘कर्मचारीतन्त्रको दुनियाँ अर्कै छ, राजनीति गर्नेको दुनियाँ अर्कै छ। मिलाउन एकदमै गाह्रो छ।’ उनले सयको स्पिडमा काम गरिहालौं भन्ने नेताको सोच भए पनि काम भने १० को स्पिडमा पनि नहुने गरेको बताइन्।

उनले प्रधानमन्त्रीलाई उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने बताइन्। ‘म पदमा त बसेको छैन। मैले देख्छु कि प्रधानमन्त्री हुन पनि गाह्रो छ। उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ,’ उनले भनिन्, ‘मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को(को हो के हो।’

प्रतिक्रिया दिनुहोस