Latest News

प्रचण्ड र बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता, राजनीतिमा नयाँ तरंग

Nepalese Times June 19, 2022 (2 Year ago)    499 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता भएको छ ।

उनीहरुबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शनिबार अर्थपूर्ण भेटवार्ता भएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ । लामो समयदेखि समाजवादी केन्द्र निर्माणको कोशिसमा रहेका दुई नेताबीच सोही विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

भेटवार्ताका क्रममा केन्द्र निर्माणबाहेक प्रचण्डले नेता भट्टराईलाई जसपाबाट अलग्गिएर एमालेसँग मिल्न लागेकोबारे सोधेका थिए। तर हालको कांग्रेससहितको गठबन्धनमा रहनेमा भट्टराईले प्रचण्डलाई जवाफ दिएका थिए।

यसअघि पनि नेकपा कायमै हुँदा बाबुराम भट्टराई, प्रचण्ड र उपेन्द्र यादवबीच समाजवादी केन्द्र निर्माणबारे पटक पटक उपराष्ट्रपति पुनकहाँ नै बसेर छलफल भइसकेको थियो।

उपराष्ट्रपति पुनले उनीहरुलाई मिलाउने प्रयास गरिरहेका छन्। उक्त भेटमा जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनेबारे पनि छलफल भएको स्रोतले उल्लेख गरेको छ।

यस्तै यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं। माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका छौं ।’

अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ। फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ। छिटै कुरो टुंगोमा पुग्दै छ।’

एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए। ‘यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेक्दै अझै अघि बढ्ने संघर्षमा हामी छौं’ उनले भने।

प्रतिक्रिया दिनुहोस