Latest News

एमसीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणा गरेर पास गर्ने तयारी !

Nepalese Times June 19, 2022 (2 Year ago)    488 Views

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भनेर शंका गरेकी छन् ।

समितिको आजको बैठकमा सभापति खरेलले भनिन्, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणा सहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न आजको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो । तर प्रधानमन्त्री देउवाको सचिवालयले अन्तिम समयमा उपस्थिति हुन नसक्ने जानकारी गराएको थियो ।

उनले २०१५ मा अमेरिकाले एसपीपीबारे प्रस्ताव राख्दा आइपीएसको कुरा नउठेको भन्दै विस्तारै विभिन्न जोड कोणबाट अनेकौं प्रस्ताव अमेरिकाले छिराउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘यो गलत छ । यस्तो कुरामा हामीले कुनै हालतमा सहि गर्न हुँदैन भनेर हामीले सरकारलाई घच्घच्याउन पाउनुपर्छ ।’

त्यस्तै उनले एसपीपी लागू गर्दा संविधान र परराष्ट्र नीतिको बर्खिलाप हुने बताइन् । तर प्रधानमन्त्री देउवा अन्तिम समयमा बैठकमा सहभागी नभएपछि समितिकै अपमान गरेको आफुलाई महशुस भएको भन्दै सभापति निरौलाले दुःख व्यक्त गरिन् ।

एमालेका सांसदहरुले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुपर्ने मागसमेत राखेका थिए । तर बैठकले खेद प्रस्ताव पारित गरेन ।
यद्यपि समितिकी सभापति खरेलले प्रधानमन्त्रीलाई फेरि पनि बैठकमा बालाउनुपर्ने बताइन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ,’ सभापति खरेलले भनिन्, ‘प्रधानमन्त्रीलाई फेरि आमन्त्रण गरौं ।’

प्रतिक्रिया दिनुहोस