Latest News

अन्तत: फुट्ने भयो बाबुराम भट्टराईको पार्टी, थाले यस्तो तयारी

Nepalese Times June 18, 2022 (2 Year ago)    722 Views

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ।

जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् ।

भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ। ‘अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ,’ भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, ‘हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ।’

पार्टीभित्र आफ्नो बहुमत सिद्ध गरेर सके यादवलाई हटाउने, नसके पार्टी विभाजन गर्ने तयारीमा भट्टराई समूह छ। भट्टराई समूहका एक नेताको दाबी मान्‍ने हो भने १९ संसीदय दलमा सो पक्षको बहुमत। १९ सांसद् (एक निलम्बित बाहेक) ११ जना सांसद भट्टराईको पक्षमा रहेको ती नेताको दाबी छ। तर, ४९९ केन्द्रीय समितिमा भने २३६ केन्द्रीय सदस्य मात्र आफूहरुको पक्षमा रहेको उनको भनाइ छ। केन्द्रीय समितिमा बहुमत सिद्ध गर्ने प्रयास भइरहेको ती नेताको दाबी छ।

भट्टराई पक्षले यादवले आफ्नो कार्यशैलीलाई लिएर आत्मलोचना गर्नुपर्ने, पार्टीलाई दुई अध्यात्मक प्रणालीमा सञ्‍चालन गर्नुपर्ने र मन्त्री हेरफेर गर्नुपर्ने अडान राखेको छ। ‘हामीले राखेका शर्त माने समस्या सुल्झन्छ। होइन भने हामी अर्कै रणनीतिमा अघि बढ्नुपर्ने हुन्छ,’ भट्टराई पक्षका ती नेता भन्छन्। नेता मोहम्मद इस्तियाक राईले पार्टी भित्रको समस्या निम्तनुमा यादवको कार्यशैली नै मुख्य जड भएको बताएका छन्। उनले सार्वजनिकरुपमा नै यादवले एकलौटी ढंगले पार्टी सञ्‍चालन गर्दा समस्या निम्तिएको बताउँदै आएका छन्।

जसपाबाट ठाकुरको बहिर्गमन पछि यादव मात्रै पार्टीको अध्यक्ष छन्। सोही कारण भट्टराई पक्षले दुई जना अध्यक्ष हुनुपर्ने माग राख्दै आएको छ। तर, यादव भने पार्टीमा एकल अध्यक्षात्मक प्रणाली चाहान्छन्।

तर, यादव पक्ष भने पार्टीभित्र देखिएको समस्या ठूलो नभएको बताउँछ। तर, पार्टीका कतिपय नेताहरुले व्यक्ति स्वार्थ पूरा नहुँदा हल्लाखल्ला गरिरहेको आरोप यादव पक्षको छ। ‘पार्टी त्यस्तो केही ठूलो समस्या निम्तिएको होइन। केही नेताहरुले व्यक्तिगत स्वार्थ पूरा नभएपछि हल्लाखल्ला गर्दै हिड्नुभएको छ। घरपरिवारमा त कहिलेकाहीँ ठाकठुक पर्छ भने पार्टीमा पनि झिनामसिना समस्या निम्तिन्छन्,’ यादव पक्षीय नेता प्रमोद साहले भने, ‘खासगरी अहिले बैठक नबोलाएको भन्‍ने आरोप उहाँहरुको छ। तर, स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ। जिल्ला समन्वय समितिको चुनाव भइरहेको छ। अर्कोतर्फ बजेट माथिको छलफलमा हामी (सांसद) व्यस्त छौं। यस्तो अवस्थामा कसरी बैठक डाक्ने?’

उनले परिस्थितीजन्य कारणले बैठक बस्‍न नसकेकाले छलफलमा माध्यमबाट बैठक आह्वान गर्न सकिने बताए। ‘परिस्थितीजन्य कारणले बैठक बस्‍न नसकेको हो। फेरि पनि हामी बैठकको मिति तय गर्न सक्छौं नी । आपसी सहमतिमा गर्न सकिने विषयमा बाहिर बोल्दै हिँड्नु राम्रो होइन। पार्टी भित्र द्वन्द देखाउने प्रयास भएको छ। जुन राम्रो होइन,’ उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस