Latest News

‘अमेरिकी सेना भित्र्याउने’ गोप्य सम्झौता के हो ? अमेरिकी दूतावासले दियो यस्तो प्रतिक्रिया

Nepalese Times June 14, 2022 (2 Year ago)    549 Views

काठमाडौं ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्दै आएको दस्तावेज असत्य भएको जनाएको छ ।

अमेरिकी दूतावासले मंगलबार साँझ ट्विट गर्दै अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन नभन्ने र कुनै पनि देशले त्यसका लागि माग आएको खण्डमा त्यस मागलाई सम्बोधन गर्ने जनाएको छ ।

‘नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य हो’ अमेरिकी दूतावासले भनेको छ, ‘नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम(एसपीपी)मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।’

अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव आएको विषय सार्वजनिक भएपछि त्यसले राजनीतिलाई तरंगित बनाएको छ । जटिल बन्दै गएको भूराजनीतिक परिस्थितिमा त्यस प्रकारको सम्झौतामा नेपाल जान नहुने र नेपाललाई ठूला शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा पर्न सक्ने भन्दै त्यसबाट जोगिन विज्ञहरुले सुझाव दिएका छन् ।

मंगलबार दिनभर यस विषयमा चासो र चर्चा बढेपछि साँझ दूतावासले आफ्नो भनाइ सार्वजनिक गरेको हो ।

‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको एक आदानप्रदान कार्यक्रम हो,’ दूतावासको ट्विटरमा भनिएको छ, ‘अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपत्तिविरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।’

दूतावासले साढे दुई दशकदेखि कायम रहेको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश भएको जनाएको छ । ‘तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्’ दूतावासले भनेको छ ।

दूतावासले प्रकृतिक प्रकोपसहितको विषयमा नेसनल गार्डले राम्रो काम गर्दै आएको जनाएको छ ।

‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्‌को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ,’ अमेरिकी दूतवासले भनेको छ, ‘यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।’

प्रतिक्रिया दिनुहोस