काठमाडौं । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि चिठ्ठा मार्फत एमाले विजयी भएको छ ।
जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।
गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।
उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । जिल्लाका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।
यस्तै नेकपा एमालेलाई भक्तपुरमा चिठ्ठा परेको छ। गोला प्रक्रियाबाट भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् ।
भक्तपुरमा कांग्रेस माओवादी गठबन्धनको ३, एमालेका ३ र नेपाल मजदुर किसान पार्टीको दुई मत रहेको थियो । एमाले र गठबन्धनको बराबरी मत आएपछि गोला तान्दा एमालेका ईश्वर थापा विजयी भएका हुन् ।
त्यस्तै उपप्रमुखमा गोला तान्दा कांग्रेसकी सुजाते बादे श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेसबाट उपप्रमुखसहित एक सदस्य जित्दा एमालेले प्रमुखसहित ५ सदस्य जितेको छ ।
यस्तै लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।
तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली कांग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन ।
तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमालेले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो ।