Latest News

अर्थमन्त्री शर्माको विवादित भूमिकाबारे मन्त्रालयले सार्वजनिक गर्यो आधिकारिक धारणा, के हो यथार्थ ? (विज्ञप्तिसहित)

Nepalese Times June 13, 2022 (2 Year ago)    661 Views

काठमाडौं । अर्थ मन्त्रालयले अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो‘’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गरेर अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा अर्थमन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्बन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र गरिएको छ । निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरूको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरू प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ ।’

यस्तै मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९÷८० को बजेट मूलतः आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै सुदृढ अर्थतन्त्र निर्माणतर्फ निर्देशित रहेको र सो बमोजिम करका दरहरूमा केही संशोधन सहित प्रस्तावित आर्थिक विधेयक लगायतका बजेट सम्बद्ध अन्य विधेयकहरू हाल संघीय संसद्को दुवै सदनमा छलफलका क्रममा रहेको छ ।’

विज्ञप्तिमा उल्लेख छ, ‘परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ । मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ ।’

मन्त्रालयले विज्ञप्तिमार्फत विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने जनाएको छ ।

बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक विकासको गतिलाई तीव्रता दिनुपर्ने समयमा भ्रामक तवरले समाचार प्रकाशन भएको अर्थ मन्त्रालयका प्रवक्ता भुपाल बरालले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस