Latest News

एमाले सही नलागे अर्कै पार्टीमा जान घनश्याम भूसाललाई गोकुल बाँस्कोटाको सुझाव

Nepalese Times June 9, 2022 (2 Year ago)    852 Views

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एमाले सही नलागे अर्कै पार्टीमा जान घनश्याम भूसाललाई आग्रह गरेका छन् ।

नेकपा एमालेमा आलोचनावादको स्थापना गर्न खोजेको भन्दै उनले घनश्याम भूसाललाई नेकपा एमाले पार्टी मन नपरे पार्टी छाडेर अर्कै पार्टीमा जान भनेका हुन् ।

एक भिडिओ कुराकानीमा उनले आलोचना माक्सवादी चेतभित्रकै एउटा अनिवार्य तत्व भएको भए पनि भूसाल जवाफदेही हुन नसकेको बाँस्कोटाको आरोप छ ।

भूसाल एमालेको साधारण भुईँ मान्छे नभएको भन्दै नेता बाँस्कोटाले जतिबेला पार्टीमा संकट आइपर्छ त्यतिबेला नै भूसाल गराउन थालेकोप्रति कटक्षसमेत गरे ।

चुनावमा हार बेहोर्नुको दोष पार्टी अध्यक्ष केपी ओलीमाथि थोपर्न नमिल्ने भन्दै उनले त्यसको जिम्मेवारी घनश्याम भूसालहरुले पनि लिनुपर्न बताए ।

उनले भने, ‘घनश्याम भूसालले भनेजस्तै स्थानीय तहको चुनाव हारेको दोष केपी शर्मा ओलीले लिने हो भने, रुपन्देही हारेको जिम्मा चाहीँ कसले लिने ?’

आलोचना र अराजकताबीचमा भिन्नता हुने भन्दै उनले भूसालले अलि धेरै अराजकता देखाएकोले पार्टीले सचेत गराउन मात्रै खोजेको बताए ।
अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए । ‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।

‘कुनै नेताको फरक मत वा असहमतिका केही विषय भए पार्टी कमिटीको बैठकमा कुरा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, त्यसैले कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका हौैं,’ बडालले भने ।

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेता भुसालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । विगतमा समेत ओलीको गतल एवं मनोमानी कार्यशैलीको भुसालले आलोचना गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस