Latest News

बागी उम्मेदवार बनेर प्रमुखमा निर्वाचित भएका शाहीलाई कांग्रेसले गर्यो पतमुक्त (विज्ञप्तिसहित)

Nepalese Times June 9, 2022 (2 Year ago)    1234 Views

सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्ला समन्वय समिति चुनावमा एमालेसँग साँठगाँठ गरेको आरोपमा उपसभापति नमरा शाहीलाई कारबाही गरेको छ ।

पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेस दैलेखले उपसभापति शाहीलाई कारबाही गरेको हो । जिल्ला सभापति मणिराम रेग्मीले विज्ञप्ति निकालेर उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका शाहीले भने कांग्रेस जोगाउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

दैलेखमा जिल्ला समन्वय बागी दिएका जिल्ला उपसभापति समेत रहेका उनी नेकपा एमालेको सहयोगमा विजयी भएका छन् । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् । उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत ल्याएर पराजित भएकी छिन् ।

२०५८ साल देखि २०६१ सालसम्म माओवादी ज्यादतीका कारण घरबार छोडेर बाहिर बस्न बाध्य भएका काँग्रेस जिल्ला उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिदै आएका छन् ।

२०४६ सालदेखि नै कांग्रेसमा आबद्ध भएका शाही आफ्नै दलभित्रको समूहका कारण हालसम्म सरकारी लाभको पदमा पुग्न पाएका थिएनन् ।२०७४ सालको निर्वाचनमा आठबीस नगरपालिका वडा नं। ७ बाट नेपाली कांग्रेसको वडाअध्यक्षको उम्मेदवार बन्न चाहेपनि उनले टिकट पाएनन् ।

यसपटक उनले जिल्ला समन्वय समितिको प्रमुख बन्नकै लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए भने उनले यसपटक निर्वाचनसमेत जिते । तर जिल्ला समन्वय समितिको प्रमुख बन्न खोज्दा पार्टी भित्रैकाले असहयोग गरेको भन्दै उनले एमालेसँग सहकार्य गरेर गठबन्धनलाई चुनौती दिएका थिए ।

गाउँ कार्य समिति, क्षेत्रीय प्रतिनिधि, दुईपटक क्षेत्रीय सदस्य भइसकेका नेता शाही यसपटक महाधिवेशन प्रतिनिधिमा लडेपनि पराजित हुन पुगेका थिए ।

उपप्रमुखमा भने एमालेका केशवबहादुर शाही विजयी भएका छन् । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एसकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामीछानेले बताए ।

प्रतिक्रिया दिनुहोस