सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्ला समन्वय समिति चुनावमा एमालेसँग साँठगाँठ गरेको आरोपमा उपसभापति नमरा शाहीलाई कारबाही गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेस दैलेखले उपसभापति शाहीलाई कारबाही गरेको हो । जिल्ला सभापति मणिराम रेग्मीले विज्ञप्ति निकालेर उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन्।
प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका शाहीले भने कांग्रेस जोगाउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।
यस्तै बागी उम्मेदवारी दिएपछि नेकपा एमालेले निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
चम्पादेवी गाउँपालिकामा कांग्रेसका नवराज केसी ४७१५ मतसहित विजयी हुँदा एमालेका खड्गबहादुर कार्कीले ४५६० मत पाएका थिए ।एमाले चम्पादेवी गाउँपालिका कमिटीले मिश्रसहित एमालेमा बसेर रुखमा मत हाल्ने अन्य प्रदेश र जिल्लास्तरीय नेताहरूमाथि पनि कारबाहीको सिफारिस गरेको थियो ।
केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट उनीहरुले सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले ३० मत पाएका थिए ।
बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो । उनलाई हटाएर झम्कहरी बडाललाई एमालेले अध्यक्ष बनाइसकेको छ ।