काठमाडौं । स्थानीय तहको चुनावको मत परिणाम सार्वजनिक भएर चर्चा सेलाउन नपाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रस्साकस्सी सुरु भएको छ । नेकपा एमालेलाई हराउनका लागि भन्दै सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेलको मोडालिटीमा छलफल गर्न थालेका छन् ।
गठबन्धन कायम रहे अघिल्लो निर्वाचनमा गठबन्धनको जुन पार्टीले जहाँ जितेको हो त्यही उठ्ने भन्ने मोडालिटी लागु हुने देखिएको छ । तर, यो मोडालिटीमा जाँदा कांग्रेसका धेरै ठूला नेताहरुले यो पटक टिकट नपाउँने देखिएको छ ।
संसदीय निर्वाचनमा वर्तमान सत्ता गठबन्धन कायम रहे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी सहित ४० केन्द्रीय नेता आफ्नो क्षेत्रबाट प्रत्यक्ष तर्फबाट उम्मेदवार हुनबाट वञ्चित हुने देखिएको हो ।
अघिल्लो निर्वाचनमा गठबन्धनको जुन पार्टीले जहाँ जितेको हो त्यही उठ्ने र नेकपा एमाले वा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा लगायतले जितेको क्षेत्र बाँडफाँड गर्ने भनिएको छ ।
यो मोडेलमा जाँदा सबैभन्दा बढी लाभ नेकपा माओवादी केन्द्रले पाउने देखिन्छ । २०७४ सालमा एमालेसँग तालमेल गरेको माओवादीले प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जित हाँसिल गरेको थियो ।
३२९ पालिका जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेस भने त्यति वेला प्रत्यक्षतर्फ जम्मा २३ सीटमा खुम्चिएको थियो । यो मोडेल अनुसार तालमेल गर्ने हो भने पहिलो दल बन्ने लक्ष्य सहित चुनावमा जान लागेको कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने देखिएको छ ।
यति यहि मोडलमा गठबन्धन अघि बढेमा झण्डै ४० केन्द्रीय पदाधिकारी तथा नेताहरूलाई आफ्नो क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्नबाट कांग्रेसले वञ्चित गर्नुपर्ने हुन्छ । अघिल्लो निर्वाचनमा गठबन्धनको जुन पार्टीले जहाँ जितेको हो त्यही उठ्ने र नेकपा एमाले वा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा लगायतले जितेको क्षेत्र बाँडफाँड गर्ने भनेर सहमति गरियो भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै आफ्नो क्षेत्रबाट उम्मेदवार बन्न पाउँदैनन् ।
अघिल्लो निर्वाचनमा पौडेलले उम्मेदवारी दिएको तनहुँ १ नेकपा एकीकृत समाजवादी को भागमा पर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ यही क्षेत्रबाट मन्त्री बनेका हुन् । त्यस्तै, गठबन्धन हुँदा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र झापा १ माओवादी केन्द्रको भागमा पर्नेछ । अघिल्लो पटक यो क्षेत्रबाट माओवादी नेता राम (सुरेन्द्र) कार्की विजयी भएका थिए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको निर्वाचन क्षेत्र मकवानपुर २ नेकपा एकीकृत समाजवादी को भागमा पर्नेछ । अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा ३ मा उम्मेदवार बन्न पाउँदैनन् । गठबन्धन गरे यो क्षेत्र जनता समाजवादी पार्टी (जसपा)को भागमा पर्न जान्छ ।
यो मोडालिटी अनुसार कांग्रेस केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक १ सभामुख अग्नि सापकोटालाई र प्रा गोविन्द्र पोखरेलले प्यूठान जनमोर्चाकी दुर्गा पौडेललाई छोड्नुपर्ने हुन्छ ।
कांग्रेसी नेताहरू महेश आचार्य मोरङ ४, बलबहादुर केसी सोलुखुम्बु, आनन्दप्रसाद ढुंगाना धनुषा १, रामशरण महत नुवाकोट १, चिनकाजी श्रेष्ठ गोरखा १, दिलबहादुर घर्ती लमजुङ, दीपकुमार उपाध्याय कपिलवस्तु १, गोपाल दहित बर्दिया २, रामजनम चौधरी कैलाली ३ र भूपेन्द्रजंग शाही कालिकोटको क्षेत्र माओवादी केन्द्रको भागमा पर्नेछ ।
त्यसै गरी, सीता गुरुङ (तेह्रथुम(१), हरिप्रसाद नेपाल पाल्पा–२ , सुशीला चौधरी दाङ १, वीरबहादुर बलायर डोटी –१० लगायत नेताहरू उठ्दै आएको क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्नेछ। डोटी–१ बाट निर्वाचित प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् ।
मधेश प्रदेशमा रामकृष्ण यादव धनुषा–२०, अजय चौरासिया पर्सा –२, सुरेन्द्र चौधरी पर्सा –३ लगायतको क्षेत्र कांग्रेसले जसपालाई छोड्नुपर्ने देखिन्छ । यहि कारण यसअघि पराजित भएका कांग्रेसका केही नेताहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्न नहुँने भन्न थालेका छन् ।