काठमाडों । नेकपा एकीकृत समाजवादीले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्रीहरुको नाम पनि सिफारिश गरेको छ ।
हिजो र आज बसेको सचिवालय बैठकले अहिले सरकारमा भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो ।
पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको छ । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्नेछन् ।
त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।
अहिले पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छन् । उनले पार्टीले सिफारिश गरेअनुसार नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाउन लागेका हुन् ।
यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री थिए। उनीहरू गत असोज २२ गते मन्त्री बनेका थिए।
नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने भएपछि नयाँ हलचल मच्चिएको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकले मन्त्री भएकालाई फिर्ता बोलाउने निर्णय गरेको हो । योसँगै अहिले उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुको भने दौडधुप सुरु भएको छ ।
पार्टीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि अहिले पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्यमन्त्री विरोध खतिवडा पार्टी कार्यालय पुगेका छन् । उनीहरु पार्टीको यो निर्णयबाट असन्तुष्ट छन् । यही कुरा अध्यक्ष माधवकुमार नेपालसामू राख्न उनीहरु पार्टी कार्यालय पुगेको बताईएको छ ।
अहिले भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको थियो । ६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै एक नेताले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए ।