Latest News

आफूलाई कारवाही सिफारिसबारे घनश्यामले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 5, 2022 (2 Year ago)    604 Views

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताएका छन् ।

भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो ।

तर भुसालले आफूलाई कारवाहीको सिफारिसबारे कुनै जानकारी नभएको भन्दै आफू आफ्नो कुरामा प्रस्ट रहेको बताए । ‘म आफ्नो कुरामा प्रस्ट छु’, भुसालले आफ्नो चिन्ता वाम आन्दोलन र एमाले बिग्रियो भन्ने रहेको बताए ।‘मेरो चिन्ता एमाले बिग्रियो भन्ने हो । मेरो पोजिसन, मेरो अध्यक्षको पोजिसन यो सवै वाम आन्दोलनभित्र, नेकपा एमालेको जीवनभित्र छ’, भुसालको भनाइ छ । उनले व्यक्तिहरुको जीवन पार्टीभित्र खोज्नुपर्ने भन्दै वाम आन्दोलन र नेकपा एमालेको नीति सिद्धान्तभित्र त्यो जीवन आफूले खोजिरहेको बताए । ‘मेरा स्वार्थ, मेरा हित र मेरो अहंकारभित्र मैले मेरो समूह, समाज र आन्दोलन खोज्ने होइन । म आफ्नो कुरामा धेरै प्रस्ट छु’, भुसालको भनाइ छ ।

भुसालले आयोगको अध्यक्षले नै कारबाहीबारे भनिसकेपछि केही भइरहेको छ भन्ने बुझ्न सकिने बताए । ‘तर के भएको हो भन्ने कुरा मैले राम्ररी थाहा पाएको छैन’, भुसालले भने ।

त्यस्तै, नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अप्ठेरो बेलामा सबै सम्हालिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

एमाले केन्द्रीय सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि भट्टराईले आवेग, उत्तेजना र आग्रहले सही ठाउँमा नपुर्याउने टिप्पणी गरेका हुन्।

केही दिनअघि बसेको एमाले अनुशासन आयोगको बैठकले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारवाही सिफारिस गरेको थियो।

स्थानीय तहको निर्वाचनपछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै अध्यक्ष ओलीको आलोचना गरेका थिए।

त्यसमाथि टिप्पणी गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

प्रतिक्रिया दिनुहोस