Latest News

घनश्याम भूषाललाई कारबाही गर्ने एमालेको निर्णय, यस्तो छ भूषालको गल्ती !

Nepalese Times June 4, 2022 (2 Year ago)    928 Views

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूषाललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्ने निर्णय भएको आयोगका अध्यक्ष केशव बडालले बताएका छन् ।

स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा कुराकानी गर्दै अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।

भुषालले टेलिभिजनमा दिएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका र त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाइएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले बताए ।

बडालले भने, ‘एक जनाको मात्रै हो । अन्यको बारेमा नामको समेत चर्चा भएको छैन । यो पार्टीको आन्तरिक विषय हो ।’

अनुशासन आयोगको बुधबार बसेको बैठकले भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

अन्तर्वार्ताको क्रममा नेता भूसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति अध्यक्ष ओलीको नीति र कार्यशैली जिम्मेवार रहेको बताएका थिए ।

चुनावी नतिजा आएपछि उनले त्यस परिस्थितिमा अध्यक्ष ओलीले राजीनामा दिनु उपयुक्त हुने समेत बताएका थिए । भूसाल एमाले अध्यक्ष केपी ओलीको नीति र पार्टी सञ्चालन विधिको आलोचकका रुपमा चिनिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस