Latest News

म्यादी प्रहरीलाई खुसीको खबर, सीटीईभीटीले दिने भयो निःशुल्क तालिम

Nepalese Times June 4, 2022 (2 Year ago)    529 Views

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।

उनले भने, ‘सीपमूलक तालिम र रोजगारी/स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौं ।’ उनका अनुसार शुक्रवार सीटीईभीटी गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको शुरूआत गरेको हो ।

म्यादी प्रहरीका लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कूक) तालिम सञ्चालन गरिएको छ भने बाँकी तालिम आगामी दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताए । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्यदिन) को पाठ्यक्रम तयार गरी सञ्चालन गरिनेछ ।

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीय तहको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भई जान लागेका १ हजार ४०० म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो ।

करीब ८७५ जनाले प्रश्नावली भरी सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्यांकका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताए ।

म्यादी प्रहरीलाई सीपमूलक तालिममार्फत उत्पादनशील क्षेत्रमा जोड़नका लागि नेपाल सरकारको आगामी आव २०७९/८० को बजेट वक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकारप्रति आभार समेत व्यक्त गरेका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको जानकारी गराउँदै उनीहरूको रुचिका विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने नीति राज्यले लिएको बताए ।

प्रतिक्रिया दिनुहोस