Latest News

राजा वीरेन्द्रको सालिकलाई प्रहरीले हटाइएपछि पूर्वराजा ज्ञानेन्द्रले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 2, 2022 (2 Year ago)    606 Views

काठमाडौँ – बाँकेको नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्।

बिहीबार वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि दुई पक्षबीच झडप भएको थियो। जनआन्दोलनमा तोडफोड गरिएको शालिक पुनः राख्ने क्रममा प्रहरीले नै गरेको हस्तक्षेपप्रति पूर्वराजा शाहले विरोध जनाएका हुन्।

उनले इतिहास उसै नमेटिने भन्दै घटनाको भर्त्सना गरेका छन्। शाहले भनेका छन्, ‘नेपाल राष्ट्रवादी जनताका तर्फबाट आज बाँके जिल्लाको नेपालगञ्जस्थित वीरेन्द्र चोकमा स्वतः स्फुर्त सहभागितामा एक राष्ट्रवादी र प्रजातन्त्र प्रेमी स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने कार्यप्रति अवरोध पुर्‍याइएको घटनाबाट हामी स्तब्ध भएका छौँ।’

पूर्वराजाले देशका लागि विशिष्ट योगदान दिएका व्यक्तिलाई विचारका आधारमा निषेध गर्नु उचित नहुने टिप्पणी गरेका छन्। शाहले इतिहास उसै नमेटिनेतर्फ सचेत गराएका छन्।

उनले भनेका छन्, ‘जुनसुकै विचार दर्शन अवलम्बन गरिए पनि देशको निम्ति विशिष्ट योगदान पुर्‍याउने महायोद्धाहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलिआएको छ। त्यसैले इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको शालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो त्यो अत्यन्त दुःखदायी हो। इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ।’

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारलाई इतिहासको सम्मान गर्न आग्रह गरेका छन्। नेपालगन्जमा वीरेन्द्रको सालिक प्रहरीले हटायो, झडपपछि गोली चल्यो उनले नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित वीरेन्द्रको सालिकमाथि सरकार पक्षबाट तोडफोड भएको पनि बताएका छन्।

‘स्वर्गीय राजा वीरेन्द्रको सालिकमा सरकार पक्षबाट भएको तोडफोड र जनसाधारण माथिको धरपकडमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु।’

त्यस्तै नेपालगन्जका निवर्तमान मेयर तथा राप्रपाका महामन्त्री धवलशमशेर राणाले सालिक राख्न अवरोध गरेर प्रशासनबाट निन्दनीय कार्य भएको आरोप लगाए । सालिक राख्ने काममा अवरोध गरेर प्रहरी प्रशासनबाट निन्दनीय घटना भयो ।

स्वर्गीय राजा, त्यसमाथि एकदमै लोकप्रिय राजाको सालिक पुनर्स्थापना गर्दाखेरी के उहाँहरुलाई चिन्ता ? सालिक राख्न खोजिएको ठाउँमा पहिला राजा वीरेन्द्र शाहकै सालिक थियो । त्यसमाथि त्यो ठाउँको नामै वीरेन्द्र चोक हो । सत्ताधारी दलहरुसमक्ष म निन्दा गर्न चाहन्छु । मेरो यसमा धेरै ठूलो विरोध छ ।

प्रतिक्रिया दिनुहोस