Latest News

प्रचण्ड र केपी ओलीबीच टेलिफोन कुराकानी, प्रधानमन्त्री बन्ने प्रस्तावमा के भने प्रचण्डले ?

Nepalese Times June 2, 2022 (2 Year ago)    1172 Views

काठमाडौं । केही दिनदेखि फेरि वाम गठबन्धनको चर्चा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन टुटाएर मंसिरमा हुने संघको चुनावमा नेपाली कांग्रेसलाई कमजोर बनाउने अस्त्र फालेका हुन् ।

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने अफर बाहिरिएको छ ।

प्रचण्डले पनि बुधबार दिएको एक अभिव्यक्तिले कांग्रेसमा खैलाबैला मच्चिएको छ । ‘कांग्रेस पनि एमाले जस्तै अहंकारी बन्ने हो कि भन्ने चिन्ता लागेको छ । कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस् । हामी त क्रान्तिकारी हौं, कांग्रेसमा अहंकार आयो भने फेरि विद्रोह गर्ने हो,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए ।

प्रचण्डको हिजोको अभिव्यक्ति गठबन्धन भत्काउने र एमालेसँग चुनावी तालमेल नै गर्ने भन्ने खालको नभएपनि एमालेलाई पनि कांग्रेसलाई जस्तै सबक सिकाउने भनेर प्रचण्डले दिएको अभिव्यक्तिले स्वाभाविक राजनीतिक तरंग उत्पन्न भएको छ ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर फेरि एकपटक वाम एकता गर्न तयारी गरेको चर्चा चल्दै गर्दा ओली र प्रचण्डबीच यसबारे छलफल भएको खुलेको छ ।

उनीहरुबीच टेलिफोनमा कुराकानी भएको र छलफलका क्रममा ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेका नेकपा एमालेका एक नेताले बताएका छन् । जवाफमा प्रचण्डले भने ओलीको प्रस्तावमा संसय व्यक्त गरेका थिए ।

यसअघि पनि पटक पटक आश्वासन दिएर धोका दिने काम भएकोले अहिले नै ओलीको प्रस्तावलाई स्वीकारिहाल्ने अवस्था प्रचण्ड रहेका छैनन् । उनले वाम एकताका लागि आवश्यक ठोस वचन खोजेका छन् ।

५ वर्षअघिको स्थानीय तहको चुनावमा पनि माओवादी केन्द्रले नेपाली कांग्रेससँग तालमेल गरेको थियो । पछि संघीय चुनावमा भने वाम एकताको नाममा माओवादी केन्द्रले साथ छाडेर एमालेसँग वाम गठबन्धन गरेको थियो ।

संघीय चुनावमा वाम गठबन्धनलगत्तै दुई पार्टी एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टीभित्रको विवादका कारण पार्टी एकीकरण लामो समयसम्म टिक्न सकेन र फेरि पार्टी विभाजित बन्यो ।

प्रतिक्रिया दिनुहोस