काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान अहिलेसम्म फेला पर्न सकेको छैन । आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको जहाज सम्पर्कविहीन भएको झण्डै छ घण्टा भयो । अहिले पनि खोजी भइरहेको छ ।
हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताए। उनले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए।
उनले भने, ‘हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो । हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।’ घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुमेको र आफूहरु गाउँले सबैले बाहिर निस्केर हेरेकफ बताए ।
उनले भने, ‘केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ ।
सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए। ‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन,’ उनले भने, ‘आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।’
सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।
विमानमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका थिए ।
यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका थिए ।
चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ ।
तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।
एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।