Latest News

तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times May 29, 2022 (2 Year ago)    1090 Views

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।

टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् । त्यस ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएलगत्तै स्थानीहरुले सरकारी अधिकारीहरुलाई जानकारी गराएका छन् ।

एक स्थानीयका अनुसार टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको र त्यहाँ धुवाँको मुस्लोसमेत निस्किएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले सो क्षेत्रमा ठूलो आवाज आएको जानकारी पाइएको बताए । अहिले मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। जहाजमा चालक दलसहित २२ जना रहेका थिए ।

यात्रुहरुमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ जहाजमा रहेका थिए ।

यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङm राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका थिए ।

चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ ।

तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्स केही वर्षअघि नै विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– ‘एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट विमानहरुले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस