Latest News

प्रतिनिधि सभाको निर्वाचनको मितिबारे प्रधानमन्त्री देउवाले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 29, 2022 (2 Year ago)    689 Views

काठमाडौं । प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आवधिक निर्वाचन नै गणतन्त्रको उच्चा विशेषता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले जनताबाट चुनिएका प्रतिनिधिबाट मुलुक सञ्चालित भएकोसमेत बताए।

मुलुकको शासनसत्तामा जनचाहनाअनुसार आवधिक निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धाबाट जो कोही नेपाली नागरिक छनोट हुनसक्ने लोकतान्त्रिक अभ्यास नै गणतान्त्रात्मक प्रणालीको उच्च आदर्श र विशेषता भएको भन्दै उनले आम जनताबाट चुनिएका जनप्रतिनिधिबाट मुलुकको शासन प्रणाली सञ्चालन भइरहेको बताए ।

हालै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै देउवाले प्रतिनिधि सभाको चुनावसमेत सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए।

जनचाहनाअनुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रोपटकको निर्वाचन भर्खरैमात्र हामीले निष्पक्ष स्वतन्त्र शान्तिपूर्ण र भयरहित ढंगमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरु छनोट भएका छन्।

यसबाट मुलुकमा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक एवं प्रजातन्त्रात्मक शासन व्यवस्था थप मजबुद भएको प्रधानमन्त्री देउवाले बताए ।

यसै वर्ष प्रतिनिधि सभाको चुनावसमेत सफलतापूर्वक सम्पन्न गरी मुलुकमा जनउत्तरदायी जनताको शासनव्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन् ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको बताए ।

प्रतिक्रिया दिनुहोस