काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । बागमती प्रदेशको बजेट सार्वजनिक भएलगत्तै मन्त्रिपरिषद् हेरफेरको तयारी भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेगरी मन्त्रिपरिषद् हेरफेरको तयारी भएको हो । पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमतिअनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।
प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन् । त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । प्रदेश सरकारले १ असारभित्र बजेट प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत ११ कात्तिकमा नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए । त्यसबेला आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो । तर‚ गठबन्धनको भागबण्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो । सोहीअनुसार पाण्डे मुख्यमन्त्री भए । प्रदेश सभामा अहिले १ सय ९ सांसद छन् ।
यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताएका छन् । बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरु गर्ने गरी सरकारले काम गरिरहेको बताए।
यसका लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको उनले बताए । मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उहाँले बताए ।
त्यस्तै यातायात क्षेत्रको सुधारका लागि ट्रायल सेन्टरको स्थापना, त्यसको पूर्ण सञ्चालन तथा त्यहाँ कार्यरत कर्मचारीलाई प्रोत्साहन गरी सवारी चालक प्रमाणपत्र दिने सन्दर्भमा उल्लेख्य काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । उनले सार्वजनिक सवारी साधनमा विद्युतीय भाडा तिर्ने प्रविधि लागू गर्न प्रदेश सरकारले कार्यविधि पास गरिसकेको बताए ।
सरकारले भैँसे–भीमफेदी सडक विस्तारका सन्दर्भमा देखिएको समस्या समाधानका लागि क्षतिपूर्ति निर्धारणसम्बन्धी कार्यविधि पारित गरी स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाएको र उनीहरुले चाँडै क्षतिपूर्ति पाउने मुख्यमन्त्री पाण्डेको भनाइ छ । अहिले सडक विस्तारको काम भइरहेको छ । उनले प्रदेशमा किताबखाना स्थापना गरिएको बताए ।
त्यस्तै पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाए ।