Latest News

काँग्रेस र माओवादीमाथि मेटमणी चौधरीले लगाए गम्भीर आरोप, एमालेसँग फेरि एकताको सम्भावना कति ?

Nepalese Times May 27, 2022 (2 Year ago)    671 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रैबाट पार्टीलाई धोका भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आरोप लगाएका छन् ।

एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेपनि त्यसको वेवास्ता गरिएको भन्दै उनले कांग्रेस र माओवादीकै कारण एकीकृत समाजवादीले थोरै ठाउँमा जितेको आरोप लगाए ।

आफ्नै पार्टीका कारण काँग्रेसलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याएपनि नेकपा एकीकृत समाजवादीमाथि दलहरू उदार नदेखिँदा अत्यन्तै खुम्चिनु परेको चौधरीले बताए ।

राजनीतिमा अनुशासन नदेखिएको र पाँच दलीय गठबन्धनबाटै एकता गर्ने, मोर्चा बनाउने भन्ने कुरा रहेको तर माओवादी र काँग्रेसका नेताहरु नै कतिपय ठाउँमा एमालेसँग मिलिदिएपछि समस्या भएको बताए ।

सुतिसकेको काँग्रेसलाई जवरजस्ती प्रधानमन्त्री बनाएर आफूहरुले सबैभन्दा ठूलो पार्टी बनाएको भन्दै उनले सँगै चुनाव लड्दा आफू जित्ने र अर्कोलाई हराउने यो बेठीक कुरा भएको बताए ।

यस्तै नेता चौधरीले बाम एकता र त्यसमा पनि एमालेसँगको एकता र तालमेलका बारेमा पनि आफ्नो धारणा राखेका छन् । राजनीतिमा सबै सम्भावना कायमै रहने भन्दै उनले भने, ‘तर, म ग्यारेन्टीका साथ भन्छु, नेकपा एमाले र हाम्रो बीचमा संघको निर्वाचनअघि एकता हुँदैन । अर्को कुरा जसरी नेकपा एमालेले जनतामाथि, संविधान र कानुनमाथि घात गरेको छ, त्यसको सकारात्मक ढंगबाट कहिल्यै पनि प्रमाणित गर्न सकिँदैन।’

नेकपा एमालेलाई साइजमा ल्याउने भन्दै निर्वाचन अघिसम्म चुनावी सभामा भाषण गर्दै हिँड्ने चौधरीले सो पार्टी अझै साइजमा आइनसकेको बताए । उनले एमाले साइजमा आउने समय आउन बाँकी नै रहेको बताए ।

अझै पनि एमालेलाई अझै सजाय नपुगेको भन्दै उनले भने, ‘एमाले दण्डित त्यो बेला हुन्छ, जुन बेला संघको निर्वाचन पछिको परिणाम आउनेछ । किनकी एमालेले संसदीय व्यवस्थामाथि तरबार झुण्ड्याएको हो र संसदीय निर्वाचनमै एमालेले दण्ड भोग्नुपर्छ ।’

कुराकानीका क्रममा नेता चौधरीले आफ्नो पार्टीको मतबाट माओवादी र काँग्रेसले ठुलो उपलब्धि हासिल गरेको भन्दै यसबारेमा गम्भीर छलफल र समीक्षाबाट पार्टी अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस