Latest News

अन्तत: भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी, को हुन् उनी ?

Nepalese Times May 23, 2022 (2 Year ago)    768 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल निर्वाचित भएकी छिन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग दाहालले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम भएसँगै उनी निर्वाचित हुने निश्चित भएको हो ।

भरतपुर महानगरपालिकामा एक लाख १६ हजार ६६६ मतगणना हुँदा रेनु दाहालले ११ हजार ४५७ मतको अग्रता लिएकी छन्। रेनु दाहालले ४७ हजार ४० मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।

गन्न बाँकी मत ११ हजार १ सय ७३ छ । गन्न बाँकी वडा नम्बर २७, २८ र २९ मा जम्मा १० हजार ३ सय २४ मत खसेको छ । रेणुले विजयविरुद्ध ११ हजार ४ सय ५७ मतको अग्रता लिइसकेकी छिन् । यो गन्न बाँकी मतभन्दा अग्रता कायम भएको मत बढि हो ।

यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत ल्याएका छन्। त्यस्तै, उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारीले ४७ हजार ९५८ मत ल्याएका छन् भने हिमला गुरूङले २७ हजार ९२२ मत ल्याएकी छन्। अहिले २६ र २७ नम्बर वडाको मत गणना भइरहेको छ।

को हुन् रेणु दाहाल ?

झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।

उनको जम्म वि.सं. २०३३ असार २६ गते चितवन शिवनगरको भीमसेन नगरमा भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।

जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।

०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।

उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् ।

पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यति मात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निर्माणमा खटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस