Latest News

चुनावमा कांग्रेसले धोका दियो भन्दै ओलीलाई झलनाथको टेलिफोन, के–के भयो कुराकानी ?

Nepalese Times May 18, 2022 (2 Year ago)    2381 Views

काठमाडौं । देशभर नेकपा एमालेलाई हराउने उदेश्यसहित बनेको सत्ता गठबन्धनले चुनावी तालमेल गर्यो । चुनावी तालमेलका क्रममा सबैभन्दा धेरै फाईदा नेपाली कांग्रेसले लियो ।

सबैभन्दा धेरै फाईदा लिने नेपाली कांग्रेसले भने आफूहरुलाई धोका दिएको अरु पार्टीका नेताहरुले भन्न थालेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले नेपाली कांग्रेसले आफूहरुलाई धोका दिएका भन्न थालेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले त झनै सार्वजनिक रुपमै नेपाली कांग्रेसले आफूहरुलाई धोका दिएको र अब गम्भीर समिक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष माधव नेपालले यो अभिव्यक्ति सार्वजनिक गरेको केही घण्टामै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न नसकिने भनेका छन् ।

एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै उनले आफूहरुले नेपाली कांग्रेसबाट धोका पाएको भन्दै अबको संसदीय चुनावमा वाम गठबन्धन गरेर जानुपर्ने बताएका छन् ।

देशभरबाट आइरहेको चुनावी परिणामका कारण निराश बनेका एकीकृत समाजवादीका नेता खनालले अब बाम गठबन्धन गरेर अघि बढ्ने प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्म पुर्याएका छन् ।

स्रोतका अनुसार नेता खनालले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेर आफूहरुले कांग्रेसबाट धोका पाएको र अबको संसदीय चुनावमा कम्युनिष्टहरुको महा गठबन्धन बनाएर जान प्रस्ताव गरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग नेता खनालले टेलिफोनमा भने, ‘हामी टुटफुट हुँदा त्यसको फाईदा नेपाली कांग्रेसले लिन सफल भयो । उनीहरुले आफ्नो स्वार्थमात्रै पुरा गरे । अब हामी मिलेर अघि बढ्नुपर्छ । कम्युनिष्टहरु नमिलि सुखै छैन । अबको संसदीय चुनावमा सबै बाम शक्तिहरु एक भएर जाऔँ । एकीकृत बन्न ढिला नगरौँ ।’

जवाफमा ओलीले खनाललाई अहिलेको अवस्थामा त्यसरी एकता गरेर जान सम्भव नभएको र एकता गर्ने हो भने गल्ती स्वीकार गरेर आउनुपर्ने बताए । ओलीले खनाललाई भने, ‘अब मिल्ने हो भने केपी ओलीले चालेका कदमहरु ठिक थियो भनेर भन्नुपर्यो । गल्ती स्वीकार गर्नुपर्यो । हैन भने यस विषयमा छलफल गरिरहनुपर्ने आवश्यकता नै म देख्दिनँ ।’

एकताको प्रस्ताव ल्याउनु राम्रो कुरा भएको भए पनि नेपाली कांग्रेसलाई जिताएर एमालेलाई हराउने उदेश्यले देशभर क्रियाकलाप अघि बढाएकोले अहिले नै त्यसरी मिलेर जाने कुरामा नश्चित गर्न सक्ने अवस्थामा आफू नरहेको ओलीले खनाललाई बताएका नेकपा एमालेकै एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस