Latest News

२६ पालिकाको मत परिणाम सार्वजनिक, कसले कुन–कुन पालिका जिते ? (सूचीसहित)

Nepalese Times May 15, 2022 (2 Year ago)    649 Views

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिले देशभर मत गणना भइरहेको छ । हालसम्म २६ पालिकाको परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ११ पालिका जितेर अग्रस्थानमा रहेको छ । यस्तै नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर चौथोमा छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध भएकाबाहेक अरु ठाउँमा खाता खोल्न सकेको छैन ।

अहिलेसम्म नेकपा एमालेले डोल्पाको से फोक्सुण्डो गाउँपालिका, चामे गाउँपालिका – मनाङ, ङिस्याङ गाउँपालिका – मनाङ, घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका – मुस्ताङ जितेको छ ।

यस्तै बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ, खुम्बु पासाङल्हामु गाउँपालिका – सोलुखुम्बु, साइपाल गाउँपालिका–बझाङ, नवलपुरको बौदीकाली – नवलपरासीपूर्व, थलरा गाउँपालिका–बझाङ र थासाङ गाउँपालिका – मुस्ताङ एमालेले जितेको छ ।

नेपाली कांग्रेसले नार्पाभूमी – मनाङ, घरपोझोङ – मुस्ताङ, नासो गाउँपालिका–मनाङ, गुल्मी दरबार गाउँपालिका – गुल्मी, गन्यापधुरा गाउँपालिका– डडेलधुरा, रेसुङ्गा नगरपालिका– गुल्मी, खार्पुनाथ गाउँपालिका– हुम्ला, बडिकेदार गाउँपालिका डोटी र बाग्लुङको तमानखोला गाउँपालिका जितेको छ ।

माओवादी केन्द्रले जगदुल्ला गाउँपालिका– डोल्पा, नौमुले गाउँपालिका– दैलेख, ताराखोला गाउँपालिका–बागलुङ र अपिहिमाल गाउँपालिका–दार्चुला जितेको छ ।

नेकपा एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डौलपाकै छार्का साङतो साङतोङ गाउँपालिकामा विजयी भएको छ । दुबै पालिकामा नेकपा एकीकृत समाजवादी निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै चासोको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकामा ५ हजार मत गनेर सकिएको छ । भरतपुर महानगरपालिकामा ५ हजार मतपत्र गणना गर्दा गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ ।

आइतबार साढे २ बजेको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १७२७ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।

सुवेदीले १६४७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ५७९ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले १८९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस