काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोल गठबन्धनको उम्मेदवारभन्दा दोब्बर मतले अगाडि रहेकी छिन् ।
उनी मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् । वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।
यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ बाट मत गणना चलिरहेको हो । काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला रु भन्ने आम चासो रहेका छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।
यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावना बढेको छ ।
पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।
एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।
खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो। यसपालि कांग्रेसकी सिर्जना सिंहले कोर–सिटीबाट अघिल्लोपटक जोशीले ल्याएभन्दा धैरै मत ल्याउने आंकलन गरिएको छ ।
विद्यासुन्दरलाई भोट दिएका मतदातामध्ये धेरैले यसपालि सिर्जनालाई भोट दिन्छु भनेका छन्। तर यसअघि कांग्रेसलाई दिएर यसपालि एमालेलाई दिन्छु भन्नेको संख्या थोरै रहेका छन् ।
अघिल्लोपटक एमालेलाई भोट दिएर यसपालि कांग्रेसलाई दिन्छु भन्ने सबै एमालेका परम्परागत मतदाता होइनन्। तीमध्ये कतिपयले आफू कांग्रेस भए पनि अघिल्लोपटक शाक्यलाई हेरेर मत दिएको बताए।