काठमाडौं ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन् । उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन् । पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन् ।
यस्तै मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरुङले १८५ मत पाएका छन्।
उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्। नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्।
यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।
३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।
यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् ।
त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।