Latest News

अहिलेसम्म कुन पार्टीले कुन-कुन पालिका जित्यो ? यस्तो छ पछिल्लो नतिजा

Nepalese Times May 14, 2022 (2 Year ago)    2827 Views

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत अहिलेसम्म निर्विरोध भएकासहित ६ पालिकाको नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा एमालेले ३,  एकीकृत समाजवादीले दुई र नेपाली कांग्रेसले एक ठाउँमा जित हात पारेको छ ।

नेकपा एमालेले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका,मनाङको चामे गाउँपालिका र डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा विजयी हाँसिल गरेका छन् । स्थानीय निर्वाचन २०७९मा चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् ।

उनी ३२० महितसहित विजयी भएका हुन् । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।

यस्तै चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् ।

यस्तै डोल्पाको शे फोक्सुन्डो गाउँपालिकामा एमाले अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यस्तै एकीकृत समाजवादीले डोल्पाको काइके गाउँपालिका र डोल्पाको छार्का साङतोङ गाउँपालिका जितेको छ ।

यस्तै नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाउँपालिकामा जित हाँसिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

यस्तै स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ ।

आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मकरूपमा कम मत खसेपछि कूल प्रतिशत बढ्न नसकेको हो । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताए ।

आयोगले खडा गरेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र र निर्वाचन पर्यवेक्षण समिति (नियोक) को कल सेन्टरबाट निर्वाचनको अनुगमन गरेको थियो । आयोगबाट स्वीकृतिप्राप्त ६८ संस्थाका करिब ५० हजार पर्यवेक्षकले पठाएका प्रारम्भिक प्रतिवेदन पनि आयोगमा आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस