काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले शनिबार बिहान सर्वदलीय बैठक गरी मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
सबै मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा ल्याएर राख्ने योजना रहेको भट्टराईले बताए । नगर विकास समितिका २ र जिससका ३ ठाउँमा मत पेटिका राखेर गन्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताए ।
नगर विकास समितिका २ हलमा २–२ खाल र जिससका ३ ठाउँमा २–२ खाल बनाइ ८ खालमा मतगणना गर्ने तयारी छ। मतदान सकिएको छ। तर कति मत खस्यो भन्ने जानकारी आउन बाँकी रहेको भट्टराईले जानकारी दिए।
पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यसहित २३ जनाले उम्मेदवारी दिएका छन्। यतिधेरै उम्मेदवार मैदानमा भएपनि एमाले र नेकपा एसलाई विशेष महत्वका साथ हेरिएको छ ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका धनराज आचार्य र नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई बलिया प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशी साझालगायत दलका उम्मेदवारहरु पनि छन् । स्वतन्त्र उम्मेदवारहरुको पनि उल्लेख्य संख्या छ ।
सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थन पाएका नेकपा एसका धनराज आचार्यले चुनावमा बाजी मार्ने धेरैको आँलन रहेको छ । तर उनलाई पनि सोचेझै सजिलो भने छैन ।
अघिल्लो निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा पोखरामा एमालेले कांग्रेसको भन्दा झण्डै १४ हजारको मतान्तरले चुनाव जितेको थियो । अहिले माधव नेपालसहितका नेताहरु एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी गठन गरेको र सत्ता गठबन्धनका दलहरुको पनि नेकपा एसलाई समर्थन भएकाले फरक परिणाम आउनसक्छ ।
यसैगरी मतदाताको संख्या पनि थपिएको र एमालेको परिस्थिति पनि उत्साहजनक रहेकाले एमालेको जित हुनेमा पनि मतदाताको आँकलन रहेको छ । एमाले विगतको परिणामका कारण पनि उत्साही छ ।
तर, एमाले फुटबाट बनेको एसकै उम्मेदवार मैदानमा आएपछि चुनौतीपूर्ण अवस्था छ । एमालेले सुरुमा दिपक पौडेललाई टिकट दिएको थियो । उनी विवादमा परेसँगै एमालेले पुनः थापालाई टिकट दिएको हो ।