Latest News

कांग्रेसका यी सक्रिय सदस्य मतदान स्थल पुगे, तर भोट हाल्न नपाएरै संसार त्यागे

Nepalese Times May 13, 2022 (2 Year ago)    1941 Views

बैतडी । बैतडीको पाटन नगरपालिका ६ टुडेगैरका कमलसिंह विष्टको भोट हाल्ने सपना अधुरै रहेको छ । कांग्रेसका सक्रिय सदस्यसमेत रहेका उनलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो ।

मतदान स्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै ज्यान गएको हो । दीर्घरोगी विष्ट लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका थिए ।

उनी बिरामी थिए । आफैँले भोट हाल्छु भनेपछी मतदानस्थल पुर्‍याइएको तर, पुग्ने बितिक्कै बेहोस भएका उनका आफन्त वसन्त बिष्टले बताए । उनलाई अस्पताल लैजाने तयारी गर्दागर्दै ज्यान गएको हो ।

कांग्रेसका कृयाशील सदस्यसमेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए । उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्ष समेत थिए ।

यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार ७७ वटै जिल्लामा मतदान सकिएको छ । मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न भएको स्थानीय चुनाव अन्तर्गत ७७ वटै जिल्लामा मतदान सकिएको हो ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन ।

छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले दाबी गरेको छ । मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् ।

जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् । मतदाताले मतदान गरिसकेकाले निर्वाचित प्रतिनिधिको भविष्य अबको केही समय बाकसमा कैद हुन पुगेको छ ।

७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । ​

यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । ​

मतदानका क्रममा देशका कयौँ ठाउँमा झडप भएको छ। केही मतदान केन्द्रमा दलहरुबीच विवाद हुँदा मतपेटिका नै फोडिएको छ। अहिलेसम्म ५५ प्रतिशत शत खसेको आयोगले जनाए पनि देशभरको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस