काठमाडौं । बानेश्वरको संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको छ । स्थानीय तह निर्वाचनको दिन संसद् भवन अगाडि सिलिण्डर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
विष्फोट गराउने ती व्यक्तिको खोजीमा काठमाडौं प्रहरीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि परिचालित भएको छ । यद्यपि, हालसम्म उनी पक्राउ परेका छैनन् ।
निर्वाचनको विरोधमा रहेको कुनै समूहले आफ्नो उपस्थिति देखाउन विष्फोट गराएको हुनसक्ने काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताएका छन् । घटनामा कुनै क्षति भएको छैन । घटनास्थलबाट ‘नेकपा सिवादी’को एउटा पर्चा पनि प्रहरीले बरामद गरेको छ ।
यस्तै स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ ।
“दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने । शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।