Latest News

मतदानको क्रम चल्दाचल्दै शेखर कोइरालाले गठबन्धनबारे जब यसो भने…

Nepalese Times May 13, 2022 (2 Year ago)    1450 Views

काठमाडौं । अशिले देशभर स्थानीय तहको निर्वाचन चलिरहेको छ । मतदान चल्दाचल्दै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन्।

आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आए पनि गठबन्धन दलहरुको बीचको एकता नटुटने दाबी गरे। नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धन दलहरुबीच समीक्षा गरी सोहीअनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे।

अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरे।

यस्तै अहिलेसम्म झण्डै ५० प्रतिशत मतदाताल भोट हालिसकेका निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदान कार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर मतगणना सुरु गर्नुपर्ने हुन्छ ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनका अनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । “दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने । शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस