काठमाडौं । नेकपा एकीकृत समाजवादीका सल्लाहकार पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।
ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई प्रवेश गराएका हुन् ।
उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको भन्दै प्रशंसा समेत गरे ।
गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर पास गरेका छन् । पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।
गौतम विगतमा बौद्धिक व्यक्तिका रुपमा चिनिन्छ । अखबारहरुमा लेख पनि लेख्थे । तर पछिल्लो समय युट्यूवमा अन्तर्वार्ताहरु दिएर भाइरलम्यानको छवि बनाएका छन् । गौतमले नेकपा एस छोड्नेबारे पार्टीका अध्यक्ष माधव नेपालसँग कुरा नगरेको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा समेत परिचित गौतम नेकपा एमाले विभाजित हुँदा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै आएका थिए ।
नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले एकीकृत समाजवादी छाड्ने निर्णय गरेको उनले बताएका छन् ।
एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको भन्दै उनले यद्यपि टुंगो लागिनसकेको बताए । गौतमले आफूसँगै नेकपा एकीकृत समाजवादीका केही साथीहरुलाई एमाले प्रवेश गराउन लागेकासमेत बताएका छन् ।
२०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका गौतमलेआफू २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागी रहेको बताउने गरेका छन् । पछि उनी एकता केन्द्र हुँदै माओवादी केन्द्रमा लागेका थिए ।
२०५२ सालमा माओवादीले गरेको जनयुद्धमा उनी पहिलो लटकै कार्यकर्ता थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बनेका थिए ।
२०६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।
नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यीय केन्द्रीय सदस्यमा गौतम पनि अटाएका थिए । तर सपथपत्रमा समेत हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम काटिएको थियो ।