Latest News

उम्मेदवारी दर्ताका लागि राप्रपाका नेता तथा कार्यकर्ता बाजागासहित राष्ट्रिय सभागृहमा (तस्बिरहरु)

Nepalese Times April 25, 2022 (2 Year ago)    642 Views

काठमाडौं । सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरु राष्ट्रिय सभागृह पुगेका छन् ।

आफ्ना उम्मेदवार मनोनयन दर्ता गराउन उनीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् । राप्रपाका नेता तथा कार्यकर्ताहरु बाजागाजासहित उम्मेदवारहरु लिएर उम्मेदवारी दर्ता गर्न गएका हुन् ।

राप्रपाले काठमाडौं महानगरपालिकामा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठसिहत पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाम मेयरका लागि छलफल भएको थियो ।

यस्तै राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा विनिता मगैयालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

======

=====

तस्बिरहरु: नेप्लिज टाइम्स

यस्तै ललितपुर महानगरपालिकाको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिमा शाक्य राप्रपाको उम्मेदवार बन्ने भएका छन् । यस्तै वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई टिकट दिने निर्णय गरेको छ भने उपमेयरमा विना जयसवाललाई उठाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । यस्तै पोखरा महानरपालिकाको मेयरमा शंखर खराल र उपमेयरमा रञ्जना सेनलाई उम्मेदवार बनाउने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्णय गरेको छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिसकेको छ । ४ पेज लामो राप्रपाको घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।

घोषणापत्र अनुसार कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो।

यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ । महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।

यस्तै राप्रपाले पार्टीले चुनाव जिते ज्येष्ठ नागरिकलाई देशभित्र निःशुल्क धार्मिक यात्रा गराउने घोषणा गरेको छ । महिला हिंसा, दाइजो प्रथा तथा बाल विवाहको अन्त्य गर्ने तथा महिला सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त, असहाय जेष्ठ नागरिकका लागि स्याहारसुसार हेरचाह र औषधि उपचारको व्यवस्था गर्ने पनि राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिकहरुले प्राप्त गर्ने सेवा सुबिधा घर दैलोमा नै पुर्याउने व्यवस्था मिलाउने, महिनाको एक पटक सबै ज्येष्ठ नागरिकहरुलाई घर दैलोमा नै आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने, ग्रामिणस्तरमा आयआर्जन र रोजगारीलाई सुनिश्चितता गर्दै बसाईंसराई व्यवस्थित र न्यूनीकरण गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस