Latest News

ज्वालामुखीमा फेरि विनोदलाई नै टिकट दिने कांग्रेसको तयारी, नेता तथा कार्यकर्ताहरु रुष्ट

Nepalese Times April 24, 2022 (2 Year ago)    1322 Views

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा फेरि पनि विनोद तिमल्सेनालाई नै टिकट दिने तयारी भएको छ । यसअघि पालिकाको एक कार्यकाल सम्हालिसकेका तिमल्सेनालाई फेरि टिकट दिने तयारी भएको छ ।

पार्टी नेतृत्वले खल्तीबाट टिकट बाँड्ने तयारी गरेको भन्दै नेपाली कांग्रेस ज्वालामुखीका नेता तथा कार्यकर्ताहरुले भने असन्तुष्टि जनाएका छन् ।

सक्षम व्यक्तिले गाउँपालिकाको नेतृत्व गर्ने आकांक्षा देखाउँदा देखाउँदै फेरि पनि पालिकाको अध्यक्षमा तिमिल्सेनालाई उम्मेदवार बनाए चुनावी परिणाम जे पनि आउन सक्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भनाइ छ ।

ज्वालामुखीको अध्यक्षका लागि कृष्णमान शाक्य, खुम सुवेदीलगायत झण्डै एक दर्जन नेताहरु आकांक्षी रहेका थिए । तर उनीहरुमध्ये शक्तिको आडमा विनोदलाई नै टिकट दिने तयारी भएको भन्दै विरोध भइरहेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच भएको सहमति अनुसार ज्वालामुखी गाउँपालिका नेपाली कांग्रेसको भागमा परेको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनतासमाजवादी पार्टी (जसपा) लगायतले सहयोग गर्नेछन् ।

धादिङमा १३ स्थानीय तह छन्। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले तीन स्थानीय तहमा जित हात पारेको थियो । नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका र ज्वालामूखी गाउँपालिकामा कांग्रेसले प्रमुख जितेको थियो। माओवादी केन्द्रले बेनीघाट रोराङ्ग गाउँपालिका मात्र जितेको थियो।

एमालेले धुनिवेशी नगरपालिका, गंगा जमुना, खजुरा, गल्छी, त्रिपुरा सुन्दरी, थाक्रे सिद्धलेक र नेत्रावती गाउँपालिका जितेको थियो । रुवि भ्याली गाउँपालिका राप्रपाले जितेको थियो।

यस्तै धादिङका सत्ता गठबन्धन दल बीच नेत्रावती बाहेकका अन्य पालिकाहरुमा सहमति भएको बताईएको छ । उप प्रमुख र वडाहरु भागबण्डा कै क्रममा रहेको बताईएको छ ।

पछिल्लो सहमती अनुसार कांग्रेसको भागमा नीलकण्ठ नगरपालिका सहित ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका र गंगाजमुनाको अध्यक्ष परेको छ ।

यस्तै माओवादी कन्द्रको भागमा जिल्ला समन्वय समितिको प्रमुख सहित थाक्रे, बेनीघाट रोराङ र रुवीभ्याली गाउँपालिको अध्यक्ष परेको छ भने समाजवादीले गल्छी र धुनीबेसीको अध्यक्ष पाएको छ ।

यस्तै धादिङको रुबीभ्याली गाउँपालिकाका अध्यक्ष पिटर तामाङको नेतृत्वमा आएको युवाहरुको टोलीले धादिङबेसी स्थित एकीकृत समजवादीको पार्टी कार्यालय तालाबन्दी गरेको छ ।

गठबन्धनको साझा उँम्मेदवार उठाउने नाममा गरिएको समझदारीले रुबीभ्यालीमा समस्य उत्पन्न भएको र एकीकृत समाजवादीलाई अन्याय भएकाले पुनर विचारको लागि दवाद सृजना गर्न तालाबन्दी गर्नु परेको अध्यक्ष पिटरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस