काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकरएक महानगरको नेतृत्व लिने सहमति भएको हो ।
निर्णय अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने एक नेताले बताए ।
तर नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् ।
सभापति देउवाले बालुवाटार बोलाएर खनालसँग भरतपुरबारे छलफल गरेका थिए । छलफलका क्रममा देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए ।
चितवन कांग्रेसको जिल्ला समिति बैठकले भरतपुरको प्रमुख नछाड्ने निर्णय गरेको थियो । सभापति देउवाले आग्रह गरे पनि कार्यकर्ताको भावना विपरीत आफूले निर्णय सच्याउन नसक्ने खनालको जवाफ थियो ।
गठबन्धनले साँझसम्म निर्णय लिनै पर्ने अवस्था रहेको सभापति देउवाले बताएका थिए । जवाफमा खनालले केन्द्रीय समितिको निर्णय मान्न राजनीतिक हिसाबले बाध्य भए पनि जिल्लाको परिस्थिति आफू एक्लैले धान्न नसक्ने बताएका थिए ।
खनालले आफ्नो प्रस्ताव नमानेपछि सभापति देउवाले साँझसम्म भरतपुरको मेयर माओवादीले पाउने निर्णय आउने बताएका थिए । सत्तारुढ गठबन्धनमा भरतपुरको मेयर माओवादीले लिने सहमति बनिसकेको छ ।
गठबन्धनको सहमति कार्यान्वयनमा सहज होस भनेर सभापति देउवाले जिल्लाका नेताहरूसँग परामर्श थालेका हुन् । देउवाले आजै कास्की र पर्साका नेताहरूसँग पनि छलफल गर्दै छन् ।