Latest News

गठबन्धनको बिरोधमा फेरि बोले कांग्रेस महामन्त्री गगन थापा

Nepalese Times April 18, 2022 (2 Year ago)    537 Views

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरकै कार्यकर्ताहरु चुनावी तालमेलको विपक्षमा रहेको बताएका छन्।

सोमबार काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

कांग्रेसमा संस्थापन इतर मानिने थापाले निर्वाचन पहिले जित्नैका लागि तालमेल हुनुलाई अस्वभाविक भनेका छन्।

‘कांग्रेसका देशैभरका कोही पनि साथीहरु तालमेलको पक्षमा छैनन्। कांग्रेस पार्टीका साथीहरु, संगठित कार्यकर्ता, शुभेच्छुक र मतदाता पनि तालमेलको पक्षमा छैनन्’, उनले भने, ‘पार्टीका मतदाताको मनोविज्ञान र स्वभाव पनि बरु हारौँला तर तालमेल नगरौँ भन्नेमा छ।’

सरकारमा जाँदा गठबन्धन हुनु स्वभाविक भए पनि चुनावका लागि फरक विचारका पार्टीबीचको तालमेललाई उनले अस्वभाविक भनेका हुन ।

‘कहिले सरकारमा जाँदा, कहिले विपक्षमा हुँदा गठबन्धन हुनु स्वाभाविक हो, निर्वाचन पहिले नै जित्नका लागि तालमेल गरेर जानु हाम्रा लागि स्वभाविक होइन भनेर देशभरका साथीहरुले भनिरहनु भएको छ।’ , उनले भने

कांग्रेसका लागि निर्वाचनमा हारजित स्वाभाविक भएको बताउँदै उनले तर कार्यकर्ताको मनोभावना विपरीत गरिने तालमेलले राम्रो नतिजा नल्याउने पनि बताएका छन्।

यस्तै  प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु कुन महानगरपालिकामा कसको उम्मेदवारी हुने भन्नेबारे छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक अहिले बसिरहेको हो । नौ बजे बस्ने भनिएको शीर्ष नेताहरूसहितको संयन्त्रको बैठक सवा दश बजे मात्रै सुरु भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले बताए ।

बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भईरहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा महानगर र उपमहानगरबारे आ–आफ्नै दाबी छन् ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस