स्थानीय तहको निर्वाचनमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली काँग्रेस एकल रुपमा चुनावमा जाने भएको छ । शनिबार गाउँपालिकाका ७ वटै वडाका वडा सभापतिको बैठक बसी आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल रुपमा चुनावमा जाने निर्णय गरेको हो ।
आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरिएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरु दलीय भागबण्डाको मोडालिटी बनाउन सक्रिय रहेपनि यस गाउँपालिका प्रमुख/उपप्रमुखदेखि वडा तहसम्म एकल रुपमा उम्मेदवार उठाउने बैठकले निर्णय गरेको छ । बैठकले उक्त निर्णय माथिल्लो निकायमा पठाउने भएको छ ।
यस्तै लगातार पाँच दिनसम्म संखुवासभाको खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो । शुक्रबार बसेको बैठकमा पनि भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेर हिँडेका एक नेताले बताए । माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले बताए ।
माओवादीसँग अब गठबन्धन नहुन्े तर तर बाँकी दलहरुसँग छलफल हुने खड्काले बताए । माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उनले बताए ।
माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उनले बताए ।माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताए ।
कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति नजुटेको तर औपचारिक रुपमै गठबन्धन टुटेको निष्कर्षमा भने आफूहरु नपुगेको उनको भनाई छ ।
कांग्रेस नेताहरुले भने सहमति जुटाउन बसेको बैठकबाटै माओवादी केन्द्र गठबन्धन नरहने भन्दै निस्केकाले अब छलफल नहुने बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् संखुवासभा इन्चार्ज हेमराज घिमिरेले भने अझै पनि पाँच दलीय गठबन्धन जोगिने बताउँछन् ।
गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।