काठमाडौं । नेपाली राजनीतिमा जे पनि सम्भव छ भन्ने कुरा पछिल्ला गतिविधिले प्रष्ट पार्दै गइरहेको छ ।
केही दिनअघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले एमालेका नेताहरुसँग निरन्तर वार्तामा रहेको खुलासा गरेका थिए । त्यसको केही दिनमै फेरि अर्को खबर बाहिरिएको छ ।
स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले पेलेर अघि बढ्ने र माओवादी केन्द्रको राजनीतिमा प्रश्न चिन्ह उठ्ने देखिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलका नेताहरुलाई निरन्तर एमालेका नेताहरुलाई सम्बादमा राखेका छन् ।
यसबीचमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपध्यक्ष रामबहादुर थापा बाललबीच सुटुक्क छलफल भएको खुलेको छ । उनीहरुबीच फेरि पनि चुनावी तालमेल गरेर अघि बढ्नेबारे कुराकानी भएको स्रोतको दाबी छ ।
नेपाली कांग्रेसले जुनसुकै बेला धोधा दिने र छिमेकी देशले पनि कम्युनिष्ट शक्तिहरु एक हुनका लागि दबाब दिइरहेकोले माओवादी केन्द्र र एमालेका नेताहरुबीच निरन्तर संवाद भइरहेको खुलेको हो ।
एमालेका नेताहरु पनि जसरी हुन्छ सत्तारुढ गठबन्धन बत्काउनुपर्ने रणनीतिमा अघि बढेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमालेका नेताहरुसँग निरन्तर छलफल गरिरहेको खबर बाहिरिएको हो ।
प्रचण्ड स्वयंमले पनि बिहीबार गठबन्धनको बैठकमा आफ्नो पार्टीका नेताहरु चुनावी तालमेलका लागि एमाले नेताहरु निरन्तर संवादमा रहेको सुनाएका छन् । एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु केही दिनअघि चीन भ्रमण गरेर फर्किएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली गत साता कुन्मिङ गएको थियो भने माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङ पनि कुन्मिङ पुगेका थिए ।
दुबै दलका नेताहरु एकैपटक चीन भ्रमणमा जानु संयोग मात्रै नभएकाले पार्टी एकताका लागि चीन सक्रिय भएको कतिपयको बुझाइ छ । चीनबाट फर्किएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी बैठकमै चीनले वामपन्थी मिलेर जान सुझाव दिएको ब्रिफिङ गरेका थिए ।
माओवादी नेता देव गुरुङले पनि नेपालका बामपन्थीहरु एक होउन भन्ने चीनको पुरानै चाहना रहेको र यसपाली पनि उनीहरुले त्यही शुभेच्छा प्रकट गरेको बताएका थिए । एमाले र माओवादी केन्द्रले २०७४ को संसदीय निर्वाचनमा गठबन्धन बनाउँदा झण्डै दुई तिहाई सिट आएको थियो । वाम तालमेलपछि पार्टी एकता नै भएको थियो ।
यसअघि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पछि सर्वोच्च अदालतको फैसलाका कारण दुबै पार्टी ब्युँतिएको थियो ।
छिन्नभिन्न अवस्थामा पुगेका कम्युनिष्ट पार्टीहरुलाई एउटै पार्टीमा समाहित गर्नका लागि छिमेकी देश चिनसमेत सक्रिय भएको छ । नेपालका लागि चिनियाँ विदेशमन्त्रीले सेमत एमाले र माओवादी मिलाउन सक्रियता बढाएको देखिन्छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेलगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला गरेको छ । तर दुबै दलका नेताहरुले भने चुनावमा एक्लै लड्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।
वाम गठबन्धनको चर्चा परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका ७ नेताहरू एकैपटक उत्तरी छिमेकी मुलुक चीन गएर फर्कनुलाई पनि महत्वका साथ हेरिएको छ ।