Latest News

ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी

Nepalese Times May 3, 2025 (15 Hour ago)    350 Views

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ज्वालामूखी गाउँ पार्टी कमिटिले पनि ज्वालामूखी गाउँपालिकामा भएको भनिएको भ्रष्टाचारजन्य गतिविधिको प्रतिवादसहित भण्डाफोर गर्न ज्वालामूखीवासीसँग अपिल गरेको छ ।

रास्वपाका गाउँ पार्टी कमिटिका कार्यबाहक सभापति रामप्रसाद श्रेष्ठले एक विज्ञप्ति निकालेर ज्वालामूखी गाउँपालिकाभित्र खुलेआम अनियमित गतिविधिहरु भइरहेको भन्दै कडा प्रतिवादमा उत्रन आग्रह गरेका हुन् ।

नेप्लिज टाइम्स डटकमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै रास्वपाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘आफ्ना आसेपासे र राजनीतिक स्वार्थपूर्तिका खतिर मात्रै स्थानीय जनप्रतिनिधिको भूमिका रहेको विषयलाई उजागर गरेको विषयले गम्भीर प्रश्न उठाएको छ ।’

रास्वपाले समाचार लेख्ने पत्रकारमाथि नै अनावश्यक आलोचना गरेर घटना मोड्ने प्रयास भएकोमासमेत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्यले पैसाको बार्गेनिङ नमिलेर समाचार लेखेको आरोप लगाएका थिए ।

पछि उनै पत्रकार शाक्यसँग कुरा गर्दै पालिका अध्यक्ष दनैले आफूले त्यसरी नाम नै किटान गरेर नभनेको बताएका थिए । रास्वपाले विज्ञप्तिमार्फत गाउँपालिकासँग विभिन्न बुँदामा जवाफसमेत माग गरेको छ ।

सामाजिक संजालमार्फत सार्वजनिक भएका आरोपहरुको यथार्थ, ईन्धनसहित मर्मत सम्भारको खर्च विवरण, पाहुना सत्कारसहितको खर्च गरिएको रकम र हालसम्म विभिन्न शीर्षकमा वितरण गरिएको अनुदान रकमको विस्तृत विवरण सार्वजनिक गर्न रास्वपाको माग छ ।

प्रतिक्रिया दिनुहोस