Latest News

यौन दुर्व्यवहारमा परेकी दलित महिला मृत फेला

Nepalese Times April 16, 2025 (5 Hour ago)    9 Views

काठमाडौं । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहाकी दलित विवाहित महिला मंगलबार आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय दिउँसो झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

दुई वर्षीया छोरीकी आमा आनन्दी करिब ४ महिनाअघि गाउँकै दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी थिइन् । यौन दुर्व्यवहार भएको लामो समयसम्म प्रहरीले उजुरी लिन मानेको थिएन भने उजुरीपछि केही व्यक्तिले मिलापत्र गर्न दबाब दिँदै आएका थिए । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले उनी छोरीसहित माइतीमै बस्दै आएकी थिइन् ।

आनन्दी गत पुस ९ मा बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गाउँमै रहेको पोखरी हुँदै हिँडिरहेका बेला स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेका थिए ।

पीडित परिवारका अनुसार आनन्दीलाई उनीहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर, नमान्दा जबर्जस्ती दुवै हात समातेर छेउकै आँप बगैंचामा लगेका थिए ।

प्रतिक्रिया दिनुहोस