काठमाडौं । राप्रपाले वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणामाथि कारबाही गर्ने तयारी गरेको छ । राजावादी प्रदर्शनका नाममा शुक्रबारको हिंसात्मक गतिविधिमा संलग्न भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणामाथि राप्रपाले समीक्षा गर्ने भएको छ । आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरुमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको राप्रपाले जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार अपराह्न तीन बजे राप्रपा मुख्यालयमा कार्यसम्पादन बैठक बोलाएका छन् ।
हिंसा अस्वीकार्य रहेको र यस्ता अराजकतामा आफ्नो पार्टी जोडिने भन्ने प्रश्नै नआउने राप्रपाका नेताहरुको प्रतिक्रिया छ । यसबारे अवश्यक समिक्षा गरेर उनीहरुलाई कारबाही गर्ने विषयमासमेत छलफल गर्न लागिएको राप्रपाका एक नेताले बताएका छन् ।
भिडलाई उक्साउन राप्रपा वरिष्ठ उपाध्यक्ष तथा आन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले कुनै पनि आन्दोलन नेतृत्वमा नहुने भन्दै जनतालाई स्वतःस्फुर्त विद्रोहमा आउन अपिल गरेका थिए । पूर्वराजासँग समझदारी समयमै नगरे बंगलादेश, सिरिया र श्रीलंकाको नतिजा भोग्नसमेत राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले धम्की दिएका थिए ।