काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णबहादुर गुरुङका लागि उपलब्ध गराईएको सरकारी मोटरसाईकलको चरम दुरुपयोग भएको छ । त्यसरी दुरुपयोग गरेर चलाईएको (बा ०२–००१ ब. ५८५७) नम्बरको मोटरसाईकल दुर्घटनामा परेको छ ।
दुरुपयोग गरेर चलाईएको मोटरसाईकलको ठक्करबाट अन्दाजी ४/५ वर्षका नाबालक गम्भीर घाईते भएका छन् । मोटरसाईकल वडाकै भवन निर्माणको काम गर्ने जिम्मेवारी पाएका सञ्जय तामाङले चलाएका थिए ।
सञ्जय तामाङ जोसँग सवारी चालक अनुमतिपत्रसमेत छैन । सवारी चालक अनुमतिपत्र नै नरहेको र गाउँपालिकाको मोटरसाईकल दुरुपयोग गर्ने तामाङलाई भने जनप्रतिनिधिकै सेटिङमा प्रहरीसँगको मिलेमतोमा उन्मुक्ति दिइएको छ । घटनालाई दबाउने प्रयास भएको छ ।
वडाअध्यक्ष गुरुङको लागि उपलब्ध गराईएको सरकारी नम्बर प्लेटको मोटरसाईकलको ठक्करबाट निलकण्ठ नगरपालिका ८ का सागर श्रेष्ठको नाबालक छोरालाई ठक्कर दिएको थियो । नाबालकको अहिले काठमाडौंको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना निलकण्ठ नगरपालिका ८ मुरलीभञ्ज्याङ्गमा भएको थियो ।
प्रहरीकै मिलेमतोमा घटना लुकाउने प्रयास
गाउँपालिकाकै जनप्रतिनिधिले चढ्दै आएको मोटरसाईकल दुरुपयोग गरिएको, त्यहि दुरुपयोग भएको मोटरसाईकलले नाबालकलाई ठक्कर दिएर गम्म्भीर घाईते बनाएको यो घटना लुकाउन प्रहरीलाईसमेत दबाबमा पारेको खुलेको छ ।
सुरुमा प्रहरीले यो घटनामा संलग्न मोटरसाईकल चालक तामाङलाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनुपर्ने थियो । सवारी चालकको अनुमतिपत्र नै नरहेकोले उनलाई थप कानुन आकर्षित हुन सक्थ्यो ।
तर उनलाई प्रहरीले पक्राउ परेको २४ घण्टा नबित्दै छाडिदिएको छ । भित्रभित्रै सेटिङ मिलाएर यो घटनालाई गुपचुप गराउने यो प्रयासमा प्रहरीसमेतको मिलेमतो देखिएको छ । मोटरसाईकलको ठक्करबाट घाइते भएका नाबालकको अभिभावकलाई विभिन्न प्रलोभन देखाएर उनीहरुलाईसमेत यो घटना बाहिर नल्याउन धम्कीसमेत दिइरहेका छन् ।
घटनामा संलग्न मोटरसाईकल चालक तामाङसँग सवारी चालक अनुमतिपत्र नभएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवक्ता एवम् डीएसपी सुवास हमालले स्वीकार गरेका छन् । तर, सवारी चालक अनुमतिपत्र नभएतापनि दुई पक्षबीच सहमति भएकोले तामाङलाई छाडिदिएको डीएसपी हमालको तर्क छ ।
उनी भन्छन्, ‘ज्वालामुखीको जनप्रतिनिधिले चढ्ने मोटरसाईकल सञ्जय तामाङले चलाएका रहेछन्, तामाङसँग लाईसेन्स पनि रहेनछ, तर दुबै पक्षबीच समझदारी बनेपछि हामीले छाडिदिएका हौँ ।’ उनले दुबै पक्षको मिलेमतो भइसकेपछि लाईसेन्स नै नभएको भएपनि चालकलाई प्रहरीको हिरासतमा राखिरहन नपर्नेसमेत तर्क गर्छन् । तर उनले दुबै पक्षबीच भएको भनिएको सहमतिपत्र उपलब्ध गराउन भने तयार भएनन् ।
चालक तामाङ र वडा अध्यक्ष गुरुङलाई के हुन्छ सजाय ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ४५ ले कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन नहुने व्यवस्था गरेको छ । त्यस्तै दफा ४६ ले कसैले पनि आफ्नो स्वामित्व अर्थात आफ्नो जिम्मामा रहेको कुनै सवारी चलक अनुमतिपत्र प्राप्त नगरेको कुनै पनि व्यक्तिलाई चलाउन दिन नहुने व्यवस्था गरेको छ ।
दफा १६१ मा दण्ड सजायको व्यवस्था गरिएको छ । दफा १६१ को १ मा लेखिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिइ वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको, सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसको कार्य ज्यान मार्ने मनसाय लिइ गरेको भए त्यसरी सवार चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।
कसैले ज्यान मार्ने मनसाय लिइ त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद हुन सक्छ ।’
यस्तै १६१ को उपदफा २ मा लेखिएको छ – ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवान हुन सक्छ ।
उपदफा ४ मा लेखिएको छ, चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा १ वा २ बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुनेछ तर जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन ।
यस्तै उपधारा ५ मा भनिएको छ, कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किचि, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुनेछ ।
यो समाचार तयार पार्दासम्म दुर्घटना भएको मात्रै ४ दिन भयो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले दुर्घटना भएको २१ दिनभित्र दुर्घटनामा परेका घाईते व्यक्तिको ज्यान जान सक्ने सम्भावनालाई ईंकित गरेको छ । २१ दिनभित्र ज्यान जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै कैद तथा सजायको व्यवस्था गरेको छ । २१ दिनभित्र ज्यान नै जान सक्ने अवस्था हो भने जन्मकैदको व्यवस्था गरिएको छ । यदि त्यसो नभएको खण्डमा पनि सजायको व्यवस्था गरिएको छ ।
तर, ज्वालामुखी गाउँपालिका–४ का वडाअध्यक्ष गुरुङको सरकारी मोटरसाईकल चलाएर दुर्घटना गराउने सञ्जय तामाङलाई २४ घण्टा पनि नबित्दै छाडिदिएर उन्मुक्तिको प्रयास भएको छ । वडा अध्यक्ष गुरुङलाई पनि अनुसन्धानको दायरामा ल्याईएको छैन ।
अङ्गभङ्ग मात्रै भएको अवस्थामा हुने सजाय
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ ले अङ्गभङ्ग भएमा हुने सजायको व्यवस्था गरेको छ । यो दफाको उपदफा १ मा भनिएको छ, कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किचि, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अंगभंग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । सो बखत निको भइ काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना हुनेछ ।
यो उपदफालाई हेर्ने हो भने घाइते नाबालक अहिलेसम्म अस्पतालमै भर्ना भएर उपचार जारी भएको अवस्था छ । यस्तो अवस्थामा चालक सञ्जयलाई कैद र जरिवानाको सम्भावना यथावत नै छ । निको भइसकेको अवस्था थियो भने मात्रै जरिवाना तिरे पुग्ने थियो । तर, घाइतेको उपचार हुँदाहुँदै उनलाई उन्मुक्ति दिइएको छ ।
यस्तै उपदफा २ मा भनिएको छ, चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा १ मा उल्लेखित कुनै कसुर गरेमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा ५ हजार रुपैयाँ थप जरिवाना हुनेछ । यो उपदफाले चालक तामाङलाई थप सजाय हुन सक्थ्यो । तर चालक सञ्जयलाई रातारात पहुँचको भरमा छाडिएको छ ।
उपदफा ३ मा भनिएको छ, –कुनै सवारी धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिइ कुनै मानिसलाई किचि, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा बसेको मानिसको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
घाइते नाबालक अहिले काठमाडौंको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । यस्तो कसुर गरेकोमा मोटरसाईकल चालक तामाङलाई यदि सवारी चालकको अनुमतिपत्र नै भएको अवस्था हो भने पनि ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
सवारी चालकको अनुमतिपत्र नरहेको अवस्थामा त चालक तामाङलाई सजायमा ५ हजार रुपैयाँ थप जरिवजाना हुने व्यवस्था छ । यो कानुनी व्यवस्था अनुसार सवारी धनी अर्थात ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गुरुङलाईसमेत चालकले पाउने सजायको आधा सजाय बेहोर्नुपर्ने हुन्छ । तर, यो घटना सामसुम पार्न पीडित पक्षलाईसमेत विभिन्न प्रलोभनमा परेको विषय बाहिरिएको छ ।
मसँग कुनै सहमति भएको छैन–वडाअध्यक्ष गुरुङ
डीएसपी हमालले दुबै पक्षबीच सहमति भएकोले मोटरसाईकल चालक तामाङलाई छाडिएको बताएपनि यता वडा अध्यक्ष गुरुङ भने यसबारे आफूलाई केही पनि थाहा नभएको बताउँछन् । आफू पालिका बाहिर रहेको समयमा मोटरसाईकल दुरुपयोग भएको र त्यसमा आफ्नो पनि कमजोरी भएको वडा अध्यक्ष गुरुङ स्वीकार गर्छन् । आफ्नो कमजोरीको भागिदार बन्न आफू तयार रहेको बताउँदै उनले कानुनले दिने जेजस्तो सजायहरु छन्, ति सबै भोग्न तयार रहेको नेप्लिज टाइम्सलाई बताए ।
‘म नभएको समयमा वडा कार्यलयमा राखिएको सरकारी मोटरसाईकल दुरुपयोग भएको सत्य हो’ उनी भन्छन्, ‘त्यसमा मेरो पनि गल्ती भयो, जथाभावी त्यसरी चलाउन दिन हुँदैन थियो । तर, मोटरसाईकल चालक सञ्जयलाई कसरी प्ररहीले पक्राउ गरेर छाड्ने काम भयो, सवारी चालकको अनुमतिपत्र थियो कि थिएन केही पनि थाहा छैन, सबै कुरा बुझेर मात्रै भन्छु ।’
८० हजारको प्रलोभन
दुर्घटनामा घाइते भएका नाबालकका बुबा सागर श्रेष्ठको भनाई अनुसार सञ्जय तामाङको तर्फबाट अहिलेसम्म ८० हजार रुपैयाँ उपलब्ध गराईएको छ । उपचारमा लाग्ने खर्च बेहोर्ने आश्वासन पाएकोले आफूहरुले पनि सञ्जयलाई छाडिदिन राजी भएको उनी बताउँछन् । प्रहरीको हिरासतमा बसेर रकम खोज्न नसकिने र बाहिर निस्कन पाएमा उपचार खर्च बेहोर्ने भनेपछि आफूहरु पनि त्यसमा मन्जुर भएको घाईते नाबालकका बुबा श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, ‘मेरो नाबालक छोरा मोटरसाईकलको ठक्करबाट घाइते भएर अहिले काठमाडौंको बि एण्ड बि अस्पतालमा भर्ना गरेर राखेको छु । सञ्जय तामाङले बाहिर निस्किएर पैसाको व्यवस्थापन गर्छु भनेपछि हामीले पनि विश्वास गरेर छाडिदिन मञ्जुर भएका हौँ । विश्वास गरेका हौँ ।’
यहि मोटरसाईकलको नाममा अर्को भ्रष्टाचार
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को (पहिलो संसोधन) मा स्थानीय पदाधिकारीहरुले यदि सवारी साधन नलिएमा तोकिएको दरमा यातायात खर्च पाउने उल्लेख छ । सवारी साधन लिएकाहरुले यातायात खर्च लिन मिल्दैन । तर, ज्वालामुखी गाउँपालिका–४ का वडा अध्यक्ष गुरुङले आफ्नो सेवा सुविधाको हकमा मोटरसाईकल लिएर पनि मासिक रुपमा यातायात खर्च लिइरहेका छन् ।
उनले गएको वर्षको कार्तिकदेखि वैशाखसम्म मात्रै हरेक महिनाको ४ हजार रुपैयाँका दरले ४८ हजार रुपैयाँ यातायात खर्चबापत बुझेका छन् । यो रकम वडा अध्यक्ष गुरुङले पलिकालाई फिर्ता गर्नुपर्ने महालेखा परीक्षकको कार्यलयले आफ्नो प्रतिवेदनमा नै उल्लेख गरिदिएको छ ।
यसरी सरकारी मोटरसाईकलको सेवा सुविधा लिएर यातायात खर्चको नाममा महिनाको ४ हजार रुपैयाँ बुझेर भ्रष्टाचार गर्दै आएका उनले त्यहि मोटरसाईकलसमेत आफ्ना आसेपासेहरुलाई चलाउन दिएर लामो समयदेखि दुरुपयोग गर्दै आएका छन् । त्यहि दुरुपयोग गरिएको मोटरसाईकलको ठक्करबाट ४ वर्षका नाबालक घाइते भएका छन् । घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । तर मोटरसाईकल दुरुपयोग गर्ने सञ्जय तामाङलाई उन्मुक्ति दिईएको छ । यो मोटरसाईकल सञ्जयसँगै वडा अध्यक्ष निकटका अरु व्यक्तिहरुले पनि चलाउँदै आएका थिए ।