Latest News

गैरकानुनी सम्पत्ति कमाएको भन्दै नागार्जुनका मेयर बस्नेतविरूद्ध मुद्दा दर्ता

Nepalese Times February 9, 2025 (3 Month ago)    159 Views

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनकाअनुसार मेयर बस्नेतले पदमा रहँदा आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ। उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियारले अनुसन्धान गर्दा विभिन्न ठाउँमा गरेको खर्च र लगानी कुल २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ थियो। त्यस्तै १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन भएको देखिएको हो।

कुल खर्च तथा लगानी र आयआर्जन घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस